१७ श्रावण २०७८, आईतवार |


तिलाठी–कुनौलीबीचको सम्बन्ध र राष्ट्रियता


एभरेष्टवीक
२६ आश्विन २०७३, बुधबार ०७:३८


सप्तरीको तिलाठी र सीमापारीका कुनौलीवासीबीच खाँडो नदीको बाढीबाट उत्पन्न समस्याको कारण झडपपछि नेपालको राष्ट्रिय सञ्चारमाध्यमदेखि फेसबुक प्रयोगकर्ता र सत्ता घटकका भ्रातृ संगठनले उछालेको राष्ट्रियताको लहर खाँडोपीडित नागरिकप्रतिको सम्वेदना हो कि सीमा क्षेत्रका जनतामा रहेका पारस्परिक सम्बन्धमा खलल पु¥याउने चाल अथवा सो क्षेत्रको वास्तविकताबाट अनभिज्ञ रहेको देशवासीमा भ्रम फैलाउने प्रयास समय प्रवाहबाट प्रष्ट हुन्छ ।
केही वर्ष अघिसम्म सप्तरी जिल्लाको सीमा पूर्वमा सुनसरीको खुनियाधारदेखि पश्चिम कमला नदीसम्म थियो । पञ्चायत कालमा राजा महेन्द्र जिल्ला पुनर्गठन गरेर पछि वर्तमान सीमा कायम भएको हो । सन् १९५६÷५७ तिर कोशी नदी उन्मुक्त अवस्थामा प्रवाहित हुँदा कोशीको विचरनस्थल पूर्वमा वर्तमान इटहरीदेखि पूर्वको बुढी खोला (बुढी कोशी)देखि पश्चिममा समदागढीसम्म थियो । कोशीले धार परिवर्तन गरीरहनाले मोरङको विराटनगरदेखि बिहारको पूर्णियासम्म गर्ने गरेको विनाश लीलाको वर्णन फनेश्वरनाथ रेणु (मैला आचल)मा र बीपी कोइराला नरेन्द्र दाई नाउँको उपन्यासमा गर्नुभएको छ । चुरिया पहाडको दक्षिणी ढलानबाट खाँडो, जिता, महुली, सुनैर तथा चुरिया पहाड र महाभारत पहाडबाट प्रवाहित त्रियुगा नदी उदयपुरबाट सप्तरीको फतेपुरमा प्रवेश गरेपछि सो नदीहरूको पानी केही कोशी नदीमा र केही आफै धार बनाई प्रवाहित हुने गरेको थियो । राणा ३ सरकार चन्द्र शम्शेरको पालामा सप्तरीको पूर्वीय भागको खेतीयोग्य जग्गा सिंचाइ गर्न नहर निर्माण गरेपछि सो नहरको नाउँ अहिले पनि चन्द्र नहर हो ।
माथि उल्लेखित नदीहरूमा खाँडो नदी सबैभन्दा उत्पाती नदी हो । सप्तरीको पूर्वी भेगमा एउटा उखान प्रचलित थियो “बाढी देखी त खाडो के” अर्थात बाढी हेर्नु छ भने खाडो जाउ । त्यसको यति वेग कडा हुन्थ्यो कि २ फिट पानीमा पनि नदी पार गर्नु असम्भव थियो । बाढीको समय बटुवा नदी किनारमा रोकिन्थ्यो । दोस्रो विशेषता के हो भने खाडोको बाढी क्षणिक हुन्छ । कुनै बेला चुरे क्षेत्रमा पानी पर्ने बित्तिकै खाडोमा बाढी आएपछि दगुरेर बटुवा नदी किनार पुग्दथियो । केहीले भाग्न नसकेपछि बाढीको चपेटामा परी ज्यानसमेत गुमाउनु परेको थियो । खाडोको उत्पादतबाट जोगाउन भिमशम्शेरको पालामा पूर्वी भेगमा तटबन्ध निर्माण गराएपछि त्यसलाई आज पनि भिम बाँध भनिन्छ । हुलाकी सडकको हनुमान राजविराज खण्ड भारतीय सहयोगमा स्त्तरोन्नति गरेको बखत देउरीभररूवामा पुल निर्माण भएको र पश्चिमी कोशी नहरको विषहरियामा दोस्रो पुल बनेपछि आम नागरिकलाई आवतजावतमा सुविधा भएको छ । राजविराज फतेपुर सडकमा खाडोमा तेस्रो पुल बन्दैछ ।
कोशी नदी उन्मुक्त बेगको समयसम्म खाडो, जिता, महुली, सुनैर र त्रियुगा नदीको पानी छरिएर बग्दथ्यो । कोशीमा पश्चिमी तटबन्ध बनेपछि नदीको सतह बढ्दै गएपछि स्थानीय परिस्थितिमा दुइटा परिवर्तन आयो ।
१. देशभित्रैबाट भएर काठमाडौं पुग्ने बाटो थिएन । जिल्लाका बाडा हाकिमदेखि आम नागरिकसम्म बैलगाडा, हात्ती, घोडा अथवा पैदल अधरा मठदेखि दक्षिण डुबा पोखरीसम्म पुगेर त्यहाँबाट नाउँ (डुंगा)मा चढेर निर्मली स्टेशन पुगी दरभंगा भएर रक्सौल हुँदै काठमाण्डूसम्म आवतजावत गर्नुपर्दथ्यो । पश्चिम तटबन्ध निर्माण पछि परिस्थिति फेरिए । कोशी योजना स्थलसम्म सामान ढुवानी र योजनामा कार्यरत अधिकारीको गाडी चल्न थालेपछि राजविराज तिलाठी हुँदै पश्चिमी तटबन्धसम्म सडक निर्माण गरेर पछि कालोपत्रे गरी राजविराजमा रहेको जिल्लाका मुख्य भन्सार कार्यालय सीमा छेउको बेलही गाउँमा स्थापना गरी दशजगा छेउमै चेकजाँजको बेरियर राखियो । पंचायतकालको एक तन्त्रीय समय थियो । चेकजाँचको नाउँमा यात्रुले भोगेको सास्तीको वर्णन साध्य छैन ।
२. कोशीमा तटबन्ध नबनेसम्म खाडो, जिता, महुली, सुनैर र त्रियुगाको बाढी उन्मुक्त प्रवाहित हुन्थ्यो । तटबन्ध निर्माण पछि खाडो जिताको सम्पूर्ण पानी तथा महुली, सुनैर त्रियुगाको केही पानी, कुनौली बजारदेखि पूर्व र पश्चिमी तटबन्धको पश्चिमको बीच भाग तथा केही पानी कुनौलीको पश्चिमी भागबाट प्रवाहित हुँदा कुनौली, हरिपुर, कमलपुर गाउँ डुबानमा पर्न थालेपछि बिहारका पूर्व मन्त्री वैद्यनाथ मेहता भोक हडताल गरेपछि दशजगाको छेउमा विवादित बाँध बिहार सरकारको सहयोगमा बनेको हो ।
चुरे तथा त्यसको आसपासमा गरिएको वनविनाशको कारण हुन थालेको भूस्खलनबाट खाडो नदीको कहर झनै बढ्दै गएको छ । खाडोमा बनाइएको काठेपुल पुरिएपछि उचाइ बढाएर पक्की पुल बनाएको थियो । सो पुल पनि बालुवाले पुरीसकेपछि तेस्रो पुल बनाउने ठेक्का लागेको छ । जिता नदीमा बनाइएको साना पुल कति पटक ढलेको गणनै गर्नुपर्दछ । सीमापारीको गाउँ बचाउन भारतको कुनौली छेउमा बाँध बनाइएपछि सम्पूर्ण पानी लोखरम, लालापट्टिको छेउमा मात्र अवशेष बचेको त्रियुगा धारबाट प्रवाहित गराइएको छ । खाडोको सतह अग्लो भएपछि लौनिया तिलाठी मात्र होइन बाढीको बेला सकरपुरा, बेलही, मलनिया गाउँका वासिन्दालाई समेत सास्ती भोग्नु परिरहेको छ । कैयौं पटक मुख्य भन्सार कार्यालयको हाताभित्र २ फिटसम्म पानी जमेको हो । सीमा आरपारका वासिन्दाबीच विवाद हुँदै आएको छ र सामन्जस्य पनि हुँदै आएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनौली बजारको ऐतिहासिक भूमिका रहेको छ । २००७ सालको क्रान्तिको तैयारीका लागि कृष्ण प्रसाद भट्टराई सप्तरीको इन्चार्ज भएको बखत कुनौलीमा कैम्प स्थापना गरी कार्यक्रम संचालन गर्नुभएको सप्तरीका प्रथम सत्याग्रही कोइलाडी निवासी गजेन्द्रनारायण सिंह, तिलाठी निवासी कुशेश्वर पाठक तथा सकरपुरा निवासी महेन्द्र राय अमातलाई कुनौलीमै फुलमाला लगाएर कुनौलीबाटै किसुनजी विदा गर्नुभएको थियो । २०१७ साल पुस १ गते प्रजातन्त्रको हत्या भएको ११ दिनमा कुनौलीबाटै हामीले शाही कुको विरोधमा पर्चा वितरण गरी ८ वर्षसम्म प्रजातन्त्र पुनस्र्थापनाका लागि लडेका हौं । प्रजातन्त्रकालमा किसुनजी सभामुख तथा प्रधानमन्त्री हुनुभयो भने गजेन्द्रजी ऐतिहासिक पुरूष । कुशेश्वर पाठक, महेन्द्र राय अमातको हालका पीढिलाई नाम पनि थाहा छैन ।
मधेश क्षेत्र तथा चुरे रेन्जको जंगलको विनास, पहाडमा ठाउँ–ठाउँमा रहेको डोजरको प्रयोगले पहाडमा भूक्षय तथा मधेशमा बाढीका समस्याबाट पूर्व झापादेखि पश्चिममा कञ्चनपुरसम्म मधेशी जनता बाढीका त्रासदी भोग्न बाध्य छन् । बिहार तथा युपी सरकार आफ्नो भूभाग बचाउन सीमा क्षेत्रमा गरेको प्रबन्धबाट मधेशका दक्षिणी भूभागका बासिन्दा अझै चपेटामा परेका छन् । यसको समाधानका लागि नेपाल–भारत दुई देशको सहकार्य आवश्यक छ । १७ वर्षपछि भारतका प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदीजीको नेपाल भ्रमण र उहाँको विचारबाट नेपालका प्रत्येक क्षेत्रमा भावावेशपूर्ण चर्चा भइरहेको बेला २ नोभेम्बर १९१४ मा मैले नेपालको पानीबाट उत्पन्न समस्या र समाधानको बारेमा लेखेको पत्रको अंश उधृत गर्नु अप्रासांगिक नहोला ।
नेपाली जल और नेपाल–भारत सम्बन्ध
नेपाल–भारत बीच का जनजन का सम्बन्ध सिर्फ धार्मिक तथा सांस्कृतिक मात्र नही है प्रकृति भी हमे जोड दिया है । किसी एक भाग मे आनेवाले आपदा का हम साझा शिकार होते है । नेपाल के पहाडमे पानी बरसने और भूक्षय होने पर न सिर्फ मधेशी जनता उत्तर बिहार तथा युपी के लोग भी उसका शिकार बनते है । नेपाल मे वर्षौं से किया गया जंगल विनाश का परिणाम चुरिया महाभारत पर्वत से बाढ के साथ आनेवाला वस्तु, पत्थर तथा बाढ के कारण मधेश के छोटी छोटी नदियाँ विकराल रूप धारण कर मधेश का हजारौं बिघा खेती लायक जमीन काटकर उसे वन्जर में परिणत कर रहा है और सीमा पार के लोग बाढका दुष्परिणाम भोग्ने को बाध्य है । आप के भ्रमणकालमे कइ सम्झौता होने का खबर सामने आया मगर सीमा क्षेत्रमे बसोबास करने वाले जनता के साझा समसया के बारे मे चर्चा होने का कोई खबर सामने नही आया । कुशहा मे पूर्वीय तटबन्ध टुटने के वाद नेपाल भारत दोनो देश के लोग प्रभावित हुआ था । नेपाल के बाढ के पानी से कुनौलीको बचाने बाँध बाँधने के बाद तिलाठी कुनौली वासी के बीच तनाव उत्पन्न होता है । कमला के बाढ से बचने बिहार मे तटबन्ध निर्माण करने के वाद सिरहा धनुषा के गाव डुबान मे परता है । बेरगनिया के बगल मे बाँध बाँधने पर रौतहट के सदरमुकाम गौर डुबान मे परता है । कमोवेश पूरव से पश्चिम तक यह समस्या विद्यमान है जिस के कारण सदियो से सौहार्दपूर्ण अवस्था मे बसे लोगो के बीच कटुता उत्पन्न होकर मारपिट का नौवत आ जाता है ।
दुई वर्ष नबित्दै तिलाठी कुनौलीवासी बीच कुटाकुट भएको छ । यसै प्रसंगमा एउटा अर्को घटनाको उल्लेख गर्न चाहन्छु । २०५६÷०५७ सालमा एमालेका भ्रातृ संगठन युवा संघ नेपाल लक्ष्मणपुर बाँधको बारेमा एउटा कार्यक्रम गरेको थियो । नेपाल सद्भावना पार्टीको तर्फबाट म पनि आमन्त्रित थिएँ । आफ्नो मन्तव्यको क्रममा युवा संघका अध्यक्षले भारत हाम्रो संस्कृतिमाथि आक्रमण गरेको र पाँच हजार जनता गएर लक्ष्मणपुर बाँध भत्काइदिने धारणा राखेपछि मैले आफ्नो विचारको क्रममा सोधेको थिएँ, नेपालको संस्कृति के हो र भारतको के । दुवै देशको संस्कृतिमा के फरक छ । हामी पाँच हजार जनता बाँध भत्काउन गए उताबाट दश हजार आइदियो के होला , यो मानवीय समस्या हो यसलाई राजनीतिकरण नगरेर दुवै देश मिलेर सहमतिमा समाधान गर्नुपर्दछ । १६÷१७ वर्ष बितिसकेको छ । लक्षमणपुर बाँध यथावत छ । राप्तीपारीका बाहेकका जनता वर्षेनी बाढीको त्रासदी भोग्न बाध्य छन् । युपी सरकार आफ्नो क्षेत्रका जनतालाई सुरक्षा दियो नेपाल सरकार किन राप्ती नदीमा तटबन्ध निर्माण गरेन ? राप्ती नदीमा पुल बनाउँदा बाँके जिल्लाको हित भन्दा दाङ, सल्यान, प्युठान लगायत अन्य जिल्लाका जनताको सुविधालाई हेरी किन पुल बनाइयो । के बाँकेको उत्तरी क्षेत्र र दाङको दक्षिणी क्षेत्रमा बाँचेखुचेको जंगल विनाश गरी त्यहाँ पहाडको मानिसलाई बसाउने अभिप्राय प्रष्ट छ । राप्ती पारीका दक्षिणी–पूर्वी भेगका जनता आज पनि वर्षात्को मौसममा सदरमुकाम जाने, नाउ (डुंगा) अथवा भारतीय भूभागबाट आउन बाध्य छन् । कर्णाली, राप्ती, बोक्राहालगायत नदीहरूमा जनताको तटबन्ध बनाउन करोडौं रकम खर्च भएपनि किन पूरा हुन सकेन । त्यसमा कतिको रकम लगानी भएको छ । सो तथ्य पनि जनसमक्ष आउन आवश्यक छ ।
२०१७ साल पुस १ गते राजा महेन्द्र प्रजातन्त्रवादीलाई दबाउन उत्पन्न गरेको कृत्रिम राष्ट्रवाद आज फेरिएको रूपमा यथावत छ । राजाकालमा सम्पूर्ण प्रजातान्त्रिक पक्ष कानूनी रूपमै अराष्ट्रिय तत्व घोषित थियो । यो लेखकलाई समेत अराष्ट्रिय तत्वमा लागेको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय गरेको थियो । प्रजातन्त्र पुनस्र्थापनापछि अन्तरिम सरकारका प्रधानमन्त्री नेपालबाट भारत प्रवाहित हुने नदीहरूलाई साझा नदी भन्दै त्यसलाई उपयोग गर्ने बयान जारी गरेपछि राष्ट्रविरोधीको आरोप लगाई यो दुई दुई पल्ट ४ निर्वाचन क्षेत्रबाट चुनावमा हराइयो । जीवनभरि प्रजातन्त्रका लागि संघर्ष गर्ने भट्टराईजीलाई २०५६ सालमा मधेशको पर्साका जनताले चुनावमा नजिताएको भए जीवनमा सांसद बन्न सक्नुहुने थिएन । आज पनि प्रमुख दलहरू आफू महान राष्ट्रवादी र विपक्षीको राष्ट्रवादप्रति सार्वजनिक मञ्चबाटै आरोप लगाउँदैछन् ।
तिलाठी–कुनौलीवासी बीचको विवाद छिमेकी बीचको विवाद हो । वास्तविकता के हो भने कुनौली–तिलाठी सम्बन्ध टुटने अवस्था छैन । मनको घाउ मेटिएपछि दुवै पक्ष आफै सामन्जस्य बनाइहाल्छ । सम्पूर्ण मधेश बाढीको त्रासमा छन् भने पहाडवासी पहिरोको चपेटामा । यो मानवीय विपदको सबै पक्ष हातेमालो गरी पीडितको सहयोग गर्ने समयमा मुख्य दल सरकार गठन विघटनको खेलामा व्यस्त छन् । तिलाठी कुनौलीवासी बीचको विवादलाई केही दल राष्ट्रिय स्वाभिमानको प्रश्न बनाउने गरेको कार्य सम्पूर्ण पीडित समुदायको पीडालाई ओझेलमा पारिदिएको छ । अझै समय छ हामी समस्याको निदानमा जुटौं ।

प्रतिक्रिया दिनुहोस्