१० श्रावण २०७८, आईतवार |


गोमाको पीडा


एभरेष्टवीक
११ माघ २०७३, मंगलवार ०५:५३

यो बर्ष बृहत् शान्ति सम्झौता (२०६३ मंसिर ५ गते) भएको १० बर्ष पुगेको छ । बृहत् शान्ति सम्झौेता भएको १० वर्षको उपलक्ष्यमा हामीले १२ वर्षे द्वन्द्वकालका मानवीय पीडाका कथाहरू पनि टुडिखेल प्रकाशित गर्ने जमर्को गरेका छांै । आउँदा दिनहरुमा यस्ता कथाहरू प्रकाशित गर्दै जाने नै छौं ।
द्वन्द्वका कथाहरू नियमित रुपमा प्रकाशित गर्ने क्रममा आज हामीले प्रभातकिरण कोइरालाले संयोजन गरेको मिडिया फाउण्डेसनको प्रकाशन ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका कथाहरू’ को संगालो बुक घाउमा मलमबाट शुरु गरेका छौं । यस पटक हामीले घाउमा मलम बुकमा समेटिएका कथामध्ये पत्रकार विमला ढकालले लेखेको ‘गोमाको पीडा’ शीर्षकको कथा राखेका छौं । यो दर्दनाक कथा वि.सं. २०५८ साल माघ १० गते राति पा“चथरको गोपेटार प्रहरी चौकीमा भएको माओवादी लडाकुस“गको भिडन्तमा आफ्नो ज्यान गुमाएका प्रहरी गोविन्द थपलियाको हो  । यसरी नै क्रमशः अरु कथाहरू पनि प्रकाशित गर्दै जाने नै छौँ  (सम्पादक) ।

gopetar

चार वर्षे छोरो भुवन, ३ महिना मात्र पुगेकी छोरी उषा र श्रीमती गोमालाई छोडेर गोविन्द थपलिया सदाका लागि यस संसारबाट बिदा भए । उनले २०५८ साल माघ १० गते राती पा“चथरको गोपेटार प्रहरी चौकीमा भएको माओवादी लडाकुस“गको भिडन्तमा आफ्नो ज्यान गुमाएका थिए । विद्रोही पक्षले हानेको गोली उनको कोखो र चिउ“डोमा लागेको थियो ।
छोरी उषाले आफ्ना बुबालाई चिन्नै पाइनन् । भुवनका आ“शु रोकिएनन् । उनका कलिला ओठहरूले ‘आमा, बुबा खोई, कहिले आउने रे, भेट्न जाऊ“ न’ जस्ता शब्दहरू निकाल्न कहिल्यै छोडेनन् ।
छोरा जन्माइ–हुर्काइ जागिरे बनाइ नाति नातिनाकी धनी भएकी आमाले दशैंको आर्शिवाद थाप्न हरेक वर्ष घर आउने आफ्नो छोरालाई अब कहिल्यै रातोे अक्षता र जमरा लगाएर आशीर्वाद थमाउन नपाउने भईन् ।
त्यस भीडन्तमा ज्यान गुमाउन पुगेका ५ प्रहरीमध्ये गोविन्द पनि एक थिए । अरू ४ जना प्रहरीहरू घाइते भएका थिए । २०३० मंसिर ०८ गते तेह्रथुमको युवा गा.वि.स. मा जन्मिएका थपलिया २०४९ सालमा प्रहरीमा भर्ती भई देश र जनताको सेवामा अनवरत रूपमा खटिइरहेका थिए ।
मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकले छुने पञ्चमी गा.वि.स वडा नं. १ गोपेटारमा स्थानीय प्रहरी चौकी राजमार्गभन्दा उत्तर तर्फ भिरालो स्थानमा छ । यो सदरमुकाम फिदिमबाट झण्डै ३० किलोमिटर टाढा पर्छ । चारैतिरबाट जंगले घेरिएको गोपेटार रातको अन्धकारमा सुनसान थियो । त्यस चौकीमा रहेका १३ जना प्रहरीहरू सम्भावित आक्रमणबाट बेखबर थिए । उनीहरू प्रत्याक्रमणको लागि तयारी अवस्थामा पनि थिएनन् । सयौंको संख्यामा आएका माओवादीहरूले आफ्नो प्रचलित युद्ध शैली अनुसार अर्कोतिर हो–हल्ला गर्दै एक्कासी त्यस प्रहरी चौकीमा आक्रमण गरेका थिए । राती ६ घन्टासम्म दोहोरो भिडन्त भएको थियो । आक्रमणको क्रममा माओवादीहरूले हातेबम फालेर प्रहरी चौकीलाई ध्वस्त पारेका थिए । केही गोलीगठ्ठा र ‘कम्ब्याट’ ड्रेस लगाएका आफ्ना २ लडाकुका लाश छोडेर झिसमिसे उज्यालोमा उनीहरू त्यहा“बाट हिंडेका थिए ।
त्यस रात एक समूहका नेपालीले अर्को समूहका नेपालीको रगत बगाएका थिए । सर्वहारा वर्गको नाममा उठेको युद्धको एउटा पक्ष नेपाल आमाकै सन्तान ती गरिब मुक्ति सेना थिए भने अर्को पक्ष जीवन धान्नकै लागि राज्यको सुरक्षा अंगमा भर्ना भएका नेपाल आमाकै गरिब सन्तान थिए ।
थपलिया परिवारबाटै त्यस घटनाको बिवरण लिन २०६७ चैततिर यो पङ्तिकार पा“चथरबाट एक दिनको बस यात्रा गरी तराईको झापा जिल्ला पुग्यो । विस्थापित उक्त परिवार हाल दुवागडी गाविस वडा नं. ४, शान्तिचोकमा बस्दै आएको छ ।
त्यहा“ पुगेर गोमाको पीडा सुन्दा मलाई आफ्नै गला अवरूद्ध भएको अनुभव भयो । १० वर्ष अगाडिको त्यो दुःखद् घटना म फेरि उनलाई सम्झाउ“दैछु, उनको घाउ बल्झाएर दुखित बनाउ“दै छु भन्ने मैले सोचें– तर पनि उनी र उनीजस्तै पीडितहरूको कथा बटुलेर पुस्तक प्रकाशन ह“ुदैछ । अहिले उनलाई आफू मात्र दुखी छु भन्ने लागेको हुन सक्छ । तर, पुस्तक पढेपछि उनीजस्ता अरू पनि पीडित र दुःखित रहेछन् भनेर आफ्नो मन बुझाउने ठाउ“ उनले पाउलिन् भन्ने सोच्दै मैले मेरो मनलाई कठोर बनाउने प्रयास गरें । र, प्रश्नहरू सोध्न थालें ।
गोमाले आफ्नो विगतलाई सम्झिन् । २०५२ साल बैशाखमा उनका भाइहरूको ब्रतबन्ध रहेछ । त्यस अवसरमा नजिकैको जोरपोखरी प्रहरी चौकीलाई पनि निम्ता गरिएको थियो । निम्तामा आएको दिन गोमा र प्रहरी जवान गोविन्दको परिचय भएको थियो । त्यहि परिचय प्रेमको रूपमा गहिरिंदै गयो र २ वर्ष पछि उनीहरूको बिहे भयो । प्रहरीमा काम गर्ने मान्छे, गोविन्द सधैं परिवारस“गै आफ्नो घरमा बसिरहन पाउ“दैनथे । जहा“ खटायो उहीं पुग्नु पर्ने । बिहेपछि उनी विराटनगर सरूवा भएका थिए । दुई वर्ष त्यहा“ बसेपछि उनी फेरि जोरपोखरी फर्किएका थिए । गोमा भन्छिन्, “जोरपोखरीबाट गोपेटारमा चौकी सरेको केही दिनमै सदाको लागि हामीलाई छोडेर उहा“ जानुभयो ।”
गोपेटार चौकीमा आक्रमण हुनुभन्दा १० दिन अगाडि मात्र थपलिया दम्पतिको पछिल्लो भेट भएको थियो । माघे संक्रान्तिको दिन उनकी आमाले मीठो–मसीनो खानेकुरा पकाएर गोमा बस्दै आएको जोरपोखरीस्थित डेरामा ल्याएकी थिइन् । त्यस दिन गोमाले भने स्कुसको जराको तरकारी र दाल–भात पकाएकी थिइन् । त्यही खाएर माघ १ गते दिउ“सो गोविन्द कोठाबाट बाहिर निस्केका थिए । त्यसपछि गोमाले एकैचोटि १२ गते जिल्ला प्रहरी कार्यालय फिदिममा गोविन्दको लाश मात्र देख्न पाइन् । गोमा रू“दै भन्छिन्, “म त सुत्केरी मान्छे चा“डै खाना खाएर सुतेकी थिए“ । राती ड्याम–ड्याम आवाज आयो । कसले गाडीमा काठ ‘लोड’ गरेको होला भन्ने सोचें । पछि थाहा भयो, गोली हानाहान भएको रहेछ । म बाहिर निस्केर बुझ्दा त बजारको प्रहरी चौकीमा आक्रमण भयो भनेर हो–हल्ला भैरहेको थियो । ”
उनी अगाडि थप्छिन्, “प्रहरी चौकीमा बम र बन्दुक पड्किरहेको रहेछ । त्यसबेला मैले केहि सोच्न सकिन । खाली भगवानको नाम मात्र जपें ।” चौकीमै रहेका आफ्ना पतिलाई केही भैहाल्ने हो कि अथवा केही भैहाल्यो कि भन्ने चिन्ताले उनलाई सताउन थाल्यो । आफ्नो बारेमा भन्दा पनि आफ्नो नाबालक छोरा भुवन र छोरी उषाको सुरक्षाबारे सोच्न थालिन् । दुःखको कुरा उनका पतिसहित अरू ४ जना प्रहरीहरूलाई त्यस रात माओवादीले मारेरै छाडे ।
तर यो खबर गोमा लगायत गोविन्दका आफन्तहरूले तत्कालै पाउन सकेनन् । भोलिपल्ट बिहानै आफ्नो घर सुभाङबाट घटनाबारे बुझ्न प्रहरी चौकी पुगेका गोमाका बुवा छविलाल अधिकारीलाई त्यहा“का प्रहरी हवल्दारले सबै प्रहरीहरू सुरक्षित रहेको आश्वासन दिएका थिए । पछि चौकीको भान्सेलाई सोध्दा उनले रू“दै कोखामा दुस्मनको गोली लागेर गोविन्द शहीद भइसकेको कुरा बताएका थिए ।
यसरी आफ्ना पतिको मृत्युपछि एक्ली हुन पुगेकी गोमालाई २ जना बच्चा र आफूले अब के गरेर खाने होला, कसरी व्यवहार चलाउने होला, कसरी बालबच्चा पढाउने होला भन्ने चिन्ताले साह्रै सताउ“ने गर्दथ्यो । त्यसबेला उनी पागल जस्तै बनेकी थिइन् । अहिले जेनेतेने गुजारा गरिरहेकी छन् । जीवनमा जे आइपरे पनि व्यहोर्नै पर्ने रहेछ । उनले माइती पक्षबाट बुवा–आमा र भाइहरूको सहयोग पाइरहिन् ।
उनका बुवा–आमा छोरीको दुःख बा“ड्न पा“चथर जोरपोखरीको आफ्नो घर–जग्गा र पसल सबै छोडेर हाल गोमाकै घर नजिक आएर बसेका छन् । सँनी छोरीलाई स्थानीय एउटा स्कुलमा पढाउने व्यवस्था गरिएको छ । छोरो भुवनलाई काठमाडौंको निजी स्तरमा संचालित समबुद्ध उच्च मा वि ले आधा शुल्क लिएर पढाइ रहेको छ । बुवा र भाइहरूको पहलमा उनले सहीदको परिवारलाई राज्यले दिएको ७ लाख ५० हजार रूपैया“ पाइन् । उनले झापामा आएर एउटा बास बस्ने घरसम्म बनाइन् । औषधी उपचार खर्चले काजक्रिया गरिन् । त्यो घटना भएको वर्ष दिन पुगेपछि सप्ताह पुराण पनि लगाइन् ।
माओवादीहरूले पा“चथरमा मृतक प्रहरीहरूको दाह संस्कार गर्न नदिएको कुरा उनी दुःखसाथ सम्झन्छिन् । गोविन्दको अन्तिम संस्कार झापामा गर्नु परेको थियो । अन्त्येष्टीको क्रममा उनले आफ्ना ४ वर्षे छोरा भुवनको हात समातेर पतिलाई दागवत्ती दिएकी थिइन् । “त्यो मेरो जीवनकै सबैभन्दा दुःखदायी र अविष्मरणीय क्षण हो । कसैका पनि बालकै अवस्थामा छोरा छोरी टुहुरा हुनु नपरोस् । श्रीमतीले उमेर छ“दै बिधवा बन्नु नपरोस्” उनी भन्छिन् ।
तर जे भयो, भयो । अब यसरी कुनै पनि नेपालीका छोरा छोरीले अनाहकमा ज्यान गुमाउनु नपरोस् भन्ने उनको चाहना छ । गोमाको विचारमा सरकारले दह्रो कानून बनाउनु पर्छ । कार्यान्वयन गर्न पनि त्यतिकै जरूरी छ । देशमा शान्ति, अमन–चयन र सुव्यवस्था छाओस् । स्थिर सरकार बनोस्, दलहरूको फोहोरी खेलको अन्त्य होस् । “प्रहरी भनेको पनि नेपाली जनता नै हो । आफ्ना बालबच्चा पाल्न र घर व्यवहार चलाउनको लागि त जागिर खाएको हो,” गोमा प्रश्न गर्छिन्, “आखिर प्रहरीहरूलाई मारेर के नै पो पाए माओवादीहरूले ?”
२०५८ तिर सम्पूर्ण देशको सुरक्षा स्थिति नाजुक बन्दै गइरहेको थियो । सर्वहारा बर्गको मुक्ति र पू“जीबाद अन्त्यको नाममा थालिएको माओवादी जनयुद्ध चर्कंदै जा“दा गोपेटारको त्यो घटना उनीहरूले पूर्वाञ्चलमा गरेको पहिलो आक्रमण थियो । दुई महिना अगाडि, मंसिर ७ मा माओवादीहरूले चार महिनादेखि पालना गर्दै आएको युद्धबिराम भंग गरे र सरकारस“गको शान्तिवार्ता असफल भएको घोषणा गर्दै पुनः आक्रमणहरू शुरू गरे । स्थिति जटिल बन्दै गयो । मंसिर ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशमा संकटकाल लागू गरे । आतंकवादी भनेर सरकारले घोषणा गरेका माओवादीहरूलाई निमिट्यान्न पार्न उनले सेनाको परिचालन गरे । एक तथ्यांक अनुसार, संकटकालको ४ महिने अवधिमा सरकारी पक्षबाट माओवादी लगायत १,०७७ मानिसहरू मारिए । त्यस्तै माओवादी पक्षबाट ४०५ जना मानिसहरूले ज्यान गुमाए । जनयुद्ध शुरू भएदेखि त्यस बेलासम्ममा ३ हजारभन्दा बढी मानिसहरूको ज्यान गैसकेको थियो । पछि जेठ ८ गते, २०५९ मा राजा ज्ञानेन्द्रले संसद नै भंग गरिदिएका थिए ।
गोमा गर्व गर्छिन्, प्रहरीहरूले त्यस क्रममा आफ्नो कतव्र्य पूरा गरेर देखाए । आक्रमणमा रातभर उनीहरूले लडेर आफ्नो वीरता प्रदर्शित गरे । बरू उनीहरूले आफ्नो ज्यान अर्पे, आत्मा समर्पण गरेनन् ।
यस्ता वीर आमाका सन्ततीहरूको सालिक बनाएर राखिनु पर्ने उनको विचार छ≤ प्रहरी दिवस बाहेक वर्षमा अर्को एक दिन पनि यस्ता बहादुर सेना, प्रहरीहरूको सम्झनामा सार्वजनिक विदा दिइनु पर्छ । छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नको लागि निःशुल्क पढ्ने व्यवस्था गरिनु पर्छ । शहीदका परिवारलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । राज्यले चा“डै सत्य निरूपण आयोग गठन गरेर छानबिन गरी दोषीलाई कारवाही गर्नु पर्छ । “यस्ता छाडातन्त्रलाई तह लगाउन दर्विलो कानून बनाई कार्यान्वयन गरिनु पर्छ । नत्र मेरो जस्तै हविगत अन्य जो कसैको पनि हुन सक्छ,” गोमा भन्छिन् ।
गोमालाई देशको नया“ सरकारप्रति वितृष्णा छ । उनी प्रश्न गर्छिन्— देशभरि कति महिलाहरूको सिउ“दो पुछियो ? कति आमाहरूको काख रित्तियो ? कति नाबालकहरू टुहुरा बने ? आखिर जुन जोगी आए पनि कानै चिरेको । खै, के परिवर्तन गर्न सके त यिनीहरूले देशमा ? खै शान्ति ल्याउन सके ? मेरो श्रीमान्को आत्माले चीर शान्ति पाओस्, छोराछोरीको लागि सरकारले सहयोग गरोस् । अबदेखि कसैका छोराले यसरी मर्नु नपरोस्— गोमाको कामना छ ।
घरतिरबाट आफूले खासै सहयोग नपाएको उनी बताउ“छिन् । तर, माइतीतिरकोे दरिलो सहयोगबाट आज उनी एउटा घरसम्म बनाएर बस्न सकेकी छन् । सरकारबाट पनि बालवच्चा पढाउन सहयोग पाए आफ्नो जीवन निर्वाह गर्न सजिलो हुने उनी ठान्छिन् । सरकारले उनका पतिको नाममा दिने मासिक पैसाले छोराको पढाइको आधा शुल्क बुझाउन नै धौ–धौ पर्छ । यस बाहेक राज्य र संघ संस्थाहरूले उनीजस्ता पीडितहरूलाई स्व–रोजगारका कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने उनको भनाइ छ ।
उनका छोरीछोरीले दशैं तिहारजस्ता चाडबाडमा आफ्ना बुवाको निकै सम्झना गर्ने गर्छन् । उनीहरूले पूजा कोठामा गोविन्दको फोटो राखेका छन् र बिहानै उठेर पूजा गर्ने गर्छन् । “मेरा छोराछोरीको लागि बाबुको माया–ममता फोटोमा मात्र सीमित छ । उनीहरूको लागि योभन्दा दुःखको क्षण के हुन सक्छ र ?” गोमा आ“शु चुहाउ“दै भन्छिन् ।  

प्रतिक्रिया दिनुहोस्