२९ बैशाख २०७८, बुधबार |


स्वास्थ्य उपचारको थलो बन्दै बिर्तामोड


एभरेष्टवीक
१४ माघ २०७३, शुक्रबार ०७:०८

बिर्तामोड, १४ माघ । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड अहिले अञ्चलकै स्वास्थ्य उपचारको केन्द्रविन्दुका रुपमा विकास हुँदै गएको छ ।
एक दशकअघिसम्म सीमित सङ्ख्यामा रहेका क्लिनिकबाट बिरामीले यहाँ उपचार पाउँदै आएका थिए । पछिल्लो एक दशकको अवधिमा यहाँ एक दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा आएका छन् । २०६१ सालमा कञ्चनजङ्घा अस्पताल स्थापना भएसँगै बिर्तामोडमा निजी एवम् सामुदायिक अस्पताल खुल्ने क्रम बढेको हो ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका पहाडी जिल्लाहरुमा गुणस्तरीय अस्पताल नहुनुले पनि मानिस उपचारका लागि बिर्तामोड आउने गरेका छन् । उपचारका लागि बिरामी आउने क्रम बढेपछि स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढेको जानकारहरु बताउँछन् । अस्पतालकै हाराहारीमा डायग्नोस्टिक सेन्टरले पनि बाहिरबाट चिकित्सक ल्याएर सेवा दिने गरेका छन् । बिर्तामोडमा उपचारका लागि दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेको स्वास्थ्य व्यवसायी बताउँछन् ।
बिर्तामोडमा तीनसय श्ययाको बिएन्डसी मेडिकल कलेज, कञ्चनजङ्घा, कनकाई, मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पताल, अञ्जली, मेडिका र बिर्ता सिटी अस्पताल सञ्चालित छन् । मेची आँखा अस्पताल, दृष्टि आई हस्पिटल र बिर्तामोड आई हस्पिटलका साथै दन्त उपचारका लागि मानव डेन्टल, अस्ट डेन्टल, मेची डेन्टल, प्रो पब्लिक डेन्टल, मकालु डेन्टल लगायत आधा दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् ।
फिजियोथेरापी र आयुर्वेद चिकित्सा प्रणालीको विकासमा सहयोग गर्ने लक्ष्य र उद्देश्यका साथ स्पार्क पूर्वाञ्चल आयुर्वेदिक अस्पताल र सुश्रुत आयुर्वेदिक अस्पताल पनि सञ्चालनमा छन् । बिएन्डसी सुविधासम्पन्न अस्पताल मध्येको एक मानिन्छ । २०५३ सालमा आइकेयर फाउन्डेसन नेदरल्यान्डद्वारा सञ्चालित मेची आँखा अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामीहरुले सेवा लिने गरेका छन् । एकसय ७५ श्यया रहेको अस्पतालमा आँखाको शल्यक्रियासमेत हुने अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले बताए ।
आठजना आँखा रोग विशेषज्ञले सेवा दिँदै आएको अस्पतालमा ४० प्रतिशत भन्दा बढी भारत, बङ्गलादेश लगायतका बिरामी आउने गरेका छन् । अस्पतालमा छुट्टै पेडियाट्रिक वार्ड रहेको उनको भनाइ छ । अस्पतालमा गुणस्तरीय उपकरण र मापदण्ड अनुरुपको भौतिक संरचना रहेको अस्पताल स्रोतले जनाएको छ । २५ श्ययाको कञ्चनजङ्घा अस्पतालमा गाइनो, अर्थोपेडिक, जेनेरल सर्जरी, फिजिसियन, प्लाथोलोजी ल्याब, भिडियो एक्स–रे, एम्बुलेन्स लगायतका सेवा रहेको अस्पतालका चिकित्सक सिपी यादवले बताए।
अस्पतालमा सातजना चिकित्सक कार्यरत रहेको उनले बताए । सो अस्पतालले दैनिक ५० जना बढी बिरामीलाई ओपिडी सेवा दिने गरेको छ । २०६३ सालमा स्थापना भएको ५५ श्ययाको कन्काई अस्पतालले दैनिक एक सयजना बिरामीलाई ओपिडी सेवा दिने गरेको छ । यहाँ बालरोग विशेषज्ञसहित सातजना पूर्णकालिन चिकित्सक छन् । अन्य अस्पतालसरह सेवासुविधा दिँदै आएको अस्पतालमा पाँच सय एमएको कम्प्युटराइज्ड एक्स–रेसमेत रहेको अस्पतालका संस्थापक अध्यक्ष तथा निर्देशक खेमराज बानियाँले बताए।
यस क्षेत्रको स्वास्थ्य आवश्यकतालाई पूरा गर्ने उद्देश्यले २०६८ सालदेखि सञ्चालनमा आएको एक सय श्ययाको मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा थाइराइड, डाइबिटिज, हाडजोर्नी तथा नसा, गाइनो, रेडियोलोजी लगायतका सेवा उपलब्ध रहेको अस्पतालले बताएको छ । ६ श्ययाको आइसियु सेवासमेत रहेको अस्पतालमा दैनिक चार÷पाँचवटा शल्यक्रिया हुने गरेको अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले बताए।
अस्पतालको सङ्ख्यामा भन्दा सेवामा ध्यान दिनुपर्ने बताउँदै उनले भने–“गुणस्तरीय सेवाका लागि सम्झौता गर्दैनौँ, समयनुकूल अस्पतालको सेवालाई विस्तार गर्दै लैजान्छौँ ।” आफूहरु सेवा विविधीकरणको पक्षमा रहेको उनले प्रस्ट्याए । न्यूरो, गाइनो, मुटु लगायतका रोगको अलग–अलग विशेषज्ञ सेवा सहितको अस्पताल भए बिरामीले सहजरुपमा सेवा पाउने उनको भनाइ छ ।
अस्पताल खुल्ने क्रम बढेपनि नयाँ क्षेत्र पहिचान गर्ने संस्कार नभएको बताउँदै उनले भने–“अस्पताल बढेसँगै प्रतिस्पर्धा बढ्छ, जसका कारण गुणस्तरीय सेवा पाउँछन् ।” २०६८ सालमै स्थापना भएको अञ्जली अस्पतालमा अहिले १५ श्यया सञ्चालनमा छ । पूर्णकालीन ६ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालमा बालरोग, नाक, कान, घाँटी, फिजिसियन, ग्यास्ट्रो, गाइनो लगायतको सेवा चौबिसै घन्टा उपलब्ध हुने अस्पताल स्रोतले जनाएको छ ।
अर्को मेडिका हस्पिटल २५ श्ययाको छ । बिरामीको सहजताका लागि लिफ्टको समेत व्यवस्था भएको अस्पतालमा दैनिक ३० जनाभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । अन्य अस्पताल सरह बाल रोग, गाइनो, जनरल सर्जन, अर्थोपेडिक, फिजिसियन लगायतका सेवा उपलब्ध रहेको अस्पतालका प्रबन्ध निर्देशक हरिश्चन्द्र बास्तोलाले बताए । अस्पतालमा अत्याधुनिक उपकरण भएको बताउँदै उनले उपचारका लागि यहाँका बिरामीले सिलिगुडी जानु नपर्ने बताए।
बिर्तासिटी अस्पतालले २५ श्ययाबाट सेवा सञ्चालन गरेको छ । अस्पतालको मापदण्डअनुसार भौतिक संरचना भएको अस्पतालले मिर्गौलाका बिरामीका लागि बिर्तामोडमै पहिलोपटक डाइलाइसिस र बालरोग विशेषज्ञको पिआइसियु सहितको सेवा सुरु गरेको छ । अन्य सेवा भने अरू अस्पतालको झैँ प्लाथोलोजी, एक्स–रे, भिडियो एक्स–रे, इसिजी लगायतको सेवा चौबिसै घन्टा उपलब्ध रहेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए।
पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिमा जनविश्वास बढ्दै गएसँगै स्पार्क पूर्वाञ्चल आयुर्वेदिक अस्पताल सञ्चालनमा छ । १० श्ययाको अस्पतालमा हाडजोर्नी तथा नसाको आयुवर्दिक पद्धतीबाट उपचार हुने गरेको छ । तीन चिकित्सक र २१ जना कर्मचारी रहेको अस्पतालमा दैनिक ६०–७० जना बिरामीहरुले सेवा लिने गरेको अस्पतालका अध्यक्ष डम्बर गिरीले बताए।
अस्पतालसँगै बिर्तामोडमा हिमालय, बजरङ्ग, अपूर्व, बिर्ता मेडिकल एन्ड डायग्नोस्टिक, आश्विन, साथी, कान्तिपुर लगायतका डायग्नोस्टिक सेन्टरले काठमाडौँ, विराटनगर, धरान लगायतका स्थानबाट विशेषज्ञ चिकित्सक ल्याएर दैनिकजसो सेवा दिँदै आएका छन् । प्रत्येक डायग्नोस्टिक सेन्टरमा दैनिक बिरामीको भीड लाग्ने गरेको छ ।
बिर्तामोडमा सञ्चालनका लागि दुई सय ३० ओटा मेडिकल दर्ता भएका छन् । प्रायः सबै मेडिकलमा चिकित्सक रहने गरेको बताउँदै बिर्ता मेडिकल एन्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक प्रदीप खरेलले चिकित्सकको सुविधा नदिए औषधि खरिद गर्न मात्र बिरामी मेडिकलमा नआउने बताए। रासस

प्रतिक्रिया दिनुहोस्