११ श्रावण २०७८, सोमबार |


उत्पीडित समुदायसँग जोडिएको धुर्मुस सुन्तली अभियान


एभरेष्टवीक
२४ माघ २०७३, सोमबार ०२:४७

12688055_442981915900765_4568828712028271822_nराष्ट्र विभिन्न जात–जाति, धर्म, संस्कृति, समुदाय वा सम्प्रदायको एकीकृत रूप हो । राष्ट्रको समग्र विकास हुनका लागि यी सबै समुदायको विकास हुन अनिवार्य छ । यद्यपि, नेपालको सन्दर्भमा अधिकांश दलित, मद्येशी र जनजातिलगायतका अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदाय राज्यको मूल प्रवाहमा आउन सकेका छैनन् । त्यसमा पनि मधेशी दलित समुदायको अवस्था अत्यन्तै दयनीय छ ।
राष्ट्रिय दलित आयोगले जातीय अनुसुची प्रतिवेदनमा उल्लेख गरेअनुसार नेपालमा २६ प्रकारका दलित समुदाय रहेका छन् । त्यसमध्ये तराई मधेशी दलितअन्तर्गत कलर, ककैहिया, कोरी, खटिक, खत्वे (मण्डल खङ्ग), चमार (राम मोची, हरिजन, रविदास), चिडिमार, डोम (मरिक), तत्मा (ताँती, दास), दुसाध (पासमान हजरा), धोवी (रजक हिन्दु), पासी, बाँतर, मुसहर, मेस्तर (हलखोर), सरभङ्ग (सरवरिया), नटुवा, ढाँडी, धरिकार धन्कार लगायतका जातिहरू पर्दछन् । त्यस्तै पहाडमा कामी, दमई, सार्की, बादी र गाईने लगायतका जातिहरू दलित समदायभित्र पर्दछन् ।
नेपालको इतिहासमा वि.सं. १९९० को मुलुकी ऐनले पानी नचल्ने र छोड्छिटो हाल्न पर्ने जातजाति भनी माथिका जातिगत समुदायलाई उल्लेख गरी जातीय भेदभाव तथा छुवाछुतलाई राज्य सञ्चालनको माध्यमको रूपमा संस्थागत गरेको थियो । सामाजिक विभेद र दमनको शक्तिशाली संयोजनका कारण दलितहरू समाजमा दोस्रो दर्जाको नागरिकको रूपमा जिउन बाध्य भएका छन् ।
मधेशमा करिव ४० प्रतिशत दलितहरू भूमिहीन रहेका छन् भने उनीहरू दुई छाक टार्नका लागि समेत गैरदलित समुुदायहरूमा आश्रित हुनुपर्ने बाध्यता छ । चाहे पहाडी दलित हुुन् वा मधेशी दलित दुवै गैरदलित समुदायबाट शोषित तथा पीडित छन् । पहाडी दलितहरू खासगरी ब्राह्मण, क्षेत्री र जनजातिहरूबाट छुवाछुत तथा भेदभावको शिकार भएका छन् भने तराई मधेशका दलितहरू मधेशी ब्राह्मण क्षेत्री (झा, साह, यादव, कुर्मी) लगायत गैरदलितहरूबाट पीडित भएका छन् ।
२०७३ साल मंसिर २५ गते काभ्रेको सानो वाङ्थली वडा नं. ७ मा यस्तै एउटा दर्दनाक र अमानवीय घटना घट्यो । ३२ वर्षीय लक्ष्मी परियारलाई बोक्सीको आरोपमा त्यहाँ अवस्थित विद्यालयको शिक्षक हिरा लामा र उसको आमा काली तामाङद्वारा डोरीले बांधी मलमुत्र खुुवाई कुटियो । फलस्वरूप लक्ष्मी परियारको अकल्पनीय रूपमा मृत्युु भयो । दुःखको कुरा यो छ कि दोषी लामालाई कारवाही गरिनुुको सट्टा प्रहरी प्रशासनले लक्ष्मी परियारकी पतिलाई श्रीमती हत्याको आरोपमा थुने ।
‘एबीसी न्यूज नेपाल’द्वारा प्रशारित ‘दलितको आवाज’ कार्यक्रममा उपस्थित लक्ष्मी परियारकी तीन छोरा मध्ये १० वर्षे माहिला छोरा सुमन परियारलाई अब तपाईं के चाहनुु हुुन्छ सोध्दा गहभरी आँसु पार्दै यस्तो जवाफ दिएको थियो, “मेरी आमा त अब यो संसारमा छैन । हिरा लामालाई जेल हाल्नुको सट्टा झुठो आरोपमा मेरो बुवालाई थुनियो । अब मेरो १३ वर्षीय दाई, २ वर्षीय भाई र मलाई कसले पाल्ने ? लामालाई कि त मेरी आमालाई जस्तै मल मुुत्र खुवाएर मार्नु पर्छ कि त मृत्यदण्डको सजाय दिनु पर्छ ।” उक्त कार्यक्रममा उपस्थित मृतकको देवर ज्ञान बहादुर परियारको अनुसार माओवादीको दबाबमा प्रशासन भित्रै प्रहरीद्वारा हात हाल्ने काम गरियो । मार्नेलाई बचाएर निर्दोष पीडितलाई जेल भित्र हाल्ने यो कहाँसम्मको न्याय हो ?
त्यस्तै गत पुस १ गते गुल्मीको अर्वेली गा.वि.स. वडा नं. ५ मा दलित समुुदायमा एउटा मानव अधिकार उल्लङ्घनको घटना घट्न गयो । ८१ वर्षीय लाल बहादुुर सुनार स्थानीय एक ब्राह्मण थरकी महिलासंग संबन्ध राखेको आरोपमा गा.वि.स. सहायक क्षविलाल न्यउपानेको संयोजकत्वमा गाउँ निकाला गरियो । देशमा कानून हुँदा हुदै गा.वि.स. सचिवलाई समेत खबरै नगरी समातेर, कुुटपिट गरी अमानवीय तरिकाले गाउँ निकाला गरियो । वृद्ध भत्ता समेत रोक्ने चेतावनी दिइयो । पछि सुनारको छोरा र आफन्तहरू खोज्दै जाँदा जंगलमा भेटियो । यी त केही उदाहरण मात्र हुन् । यस्ता घटनाहरू कति छन कति ।
एन. एस. आई. नेपाल सामाजिक समावेशी सर्वेक्षणको तथ्याङ्क अनुुसार ३६.४ प्रतिशत पहाडी दलित भूमिहिन छन् भने ४१ प्रतिशत मधेशी दलित भूमिहिन छन् । नेपालमा दलितको सरदर शिक्षित दर ५२.४ प्रतिशत जनाएको छ । जसमा दलित भित्र हेर्ने हो भने ५२.४ प्रतिशत पहाडी दलित छ भने ३४ प्रतिशत मधेशी दलितको शैक्षिक दर पाइन्छ । त्यसै गरी नेपालमा कुल दलित महिलाको सरदर शिक्षित दर ४५.५ प्रतिशत छ भने डोम र मुसहर महिलाको १७.९ प्रतिशत रहेको छ । नेपालमा सरदर दलितहरू ७७ प्रतिशत सन्तुुलित भोजन प्राप्त गर्दछन् । स्थानीय स्तरमा स्वास्थ्य चौकीहरूमा सेवा लिन जाँदा १४.६ प्रतिशत पहाडी दलितहरूसंग विभेद भएको छ भने ४३ प्रतिशत मधेशी दलितहरूसंग विभेद हुने गरेको छ । नेपालमा स्वास्थ्य सेवा लिन जाँदा सरदर ७७ प्रतिशत महिलाहरू समस्या भोग्ने गरेका छन् ।
सिभिल सर्विस रेकर्ड २०६३ को तथ्यांकअनुसार नेपालमा कुल सरकारी कर्मचारी मध्ये १.९४ प्रतिशत दलित सरकारी छन् भने मधेशी दलितको संख्या उल्लेख गरिएको छैन । ३३.९ प्रतिशत पहाडी दलित वालवालिका कुपोषणबाट ग्रस्त छन् भने ३६.३ प्रतिशत मधेशी दलित वालवालिकाहरू कुपोषन ग्रस्त छन् ।
हाल महोत्तरीको वर्दीवास नं. पा. वाडा नं. २ स्थित मुसहर वस्ती अत्यन्त चर्चामा रहेको छ । चर्चा हुनको पछाडी हाँस्य कलाकार तथा समाजसेवी धुुर्मुस (सीताराम कटेल) र सुन्तली (कञ्जना घिमिरे) हुन् । राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, सांसदको नाम नजान्ने नेपालीले पनि आज धुुर्मुस र सुन्तली भने पछि चिन्ने गर्छन् ।
वर्दीवासको मुुसहर वस्ती भन्दा मलाई ७–८ वर्ष पहिलेको एउटा रोचक प्रसंग याद आयो । मुसहर वस्तीसंगै रहेको सीता भुजेल दीदिको घरमा एक रात बसेको थिएँ । लगभग रातको ९–१० बजेको थियो म निदाउनै लागेको थिएँ । त्यतीकैमा एक जना महिला आंगनमा आएर सीता दीदिलाई बोलाई र एक छिन पछि फर्केर गई ।
भोली पल्ट सीता दीदिलाई को त्यती राती आको भनेर सोध्दा मुसहर बस्तीको एउटी आइमाई बती गएकोले निद्रा लागेन रे । त्यसैले टुकी बालेर सुन्तको लागि मट्टीतेल माग्न आएकी थिई रे । सुत्दा बती बालेर सुत्न पर्ने वानी सुुनेर मलाई अनौठो लाग्यो । दीदिले कुरा थप्नु भयो, “यहाँ त यिनीहरूलाई रोग लागे पछि औषधी नै गर्नु पर्दैन नि ।” एक छिन म अक्मकिएँ । वहाँले फेरि भन्नु भयो, “यिनीहरूको दिनको सरूवात रक्सीबाट हुन्छ र सन्नेबेला पनि रक्सी खाएर झगडा नगरेको दिन नै हुन्न । उसैले यिनीहरू विरामी परे पछि मरिहाल्छ र उपचार नै गर्नु पर्दैन ।” यस्तो व्याङ्ग्यात्मक कुुरा सुन्दा एक छिन हाँसो उठ्यो तर पछि कति पिछिडिएको समदाय रहेछ भनेर सोच्न वाध्य भएँ ।
वास्तवमा मुुसहर वस्तीमा रोग, भोक, अशिक्षा प्रष्टै देख्न सकिन्छ । सरसफाई अभियानको क्रममा वर्दीवास पुगेका धुर्मस–सन्तलीलाई स्थानीय युवा पत्रकार रामकरण महतोले पहिलो पल्ट मुसहर वस्ती लग्दा त्यहाँको जीर्ण र दयनीय अवस्था देख्दा मनै रोएर आयो । परालले छाएको ससाना छाप्रा, फोहर वस्ती, मmुत्रा पहिरण, अशिक्षा, बालविवाह, कुपोषण आदिले उनीहरूलाई अति नै मर्माहत तुल्यायो । जंगलबाट दाउरा ल्याएर जसो तसो गुजारा गरिरहेका, जाडोमा कठाङ्ग्रिएर बसेका मुसहरहरूको लागि डस्ना सिरकको व्यवस्था गरि दिए । पढ्नको लागि स्थानीय स्कूलमा गएर शिक्षकहरूलाई भनी प्रेरित गरे ।
सब भन्दा ठूलो कुरा एकिकृत तेस्रो नमना बस्तीको रूपमा ५० घरधुरीका करिव २७० जना मुसहरको लागि घर बनाइ दिने भएका छन् । करिब ४ करोड ७८ लाखको लागतमा हुुन लागेको निर्माण कार्यको शिलान्यास मह जाडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) बाट भर्खर भयो । मुसहर बस्तीबाट मानवता र सदभावका लागि सहकार्य गर्ने विकासका लागि मूल फुटाउने खोजेको धुर्मुसले बताए । शिलान्यास गर्न आएका मदन कृष्ण श्रेष्ठले धुर्मुस सन्तलीको यस्तो साहसिक र उदाहरणीय कार्यले आजका ठूल्ठूला भाषण दिने नेताहरूको लागि चुनौती नै भएको बताए ।
तीन पुुस्तामा सबभन्दा बढी पढेको मंजील सदा कक्षा १२ मा अध्ययनरत छन् । यती पिछिडीनुको कारण एकातिर गरिवी र ज्ञानको कमी हो भने अर्कोतिर उच्च जात भनाउदा हाम्रो समाज पनि हो । ‘आर्टिस्ट खबर’को संवाददातासंगको कुराकानीमा मुुसहर वस्तीकै एक महिला देवकला सदाको अनुुसार स्कूलमा आफ्ना बच्चाहरू पढ्न जाँदा फोहर लुगा लगाएर आएको भनी शिक्षकहरूले पढ्न दिन्थेन रे । शिक्षा दिने गुरू नै यस्तो व्यवहार गरे पछि हाम्रो समाज कसरी अगाडी बढ्छ त ।
वर्तमान संविधानमा अविभेद तथा छुवाछूत विरूद्धको व्यवस्थाहरू समावेश गराइए पनि अधिकांश छुवाछूतको मुद्दा फौजदारी भई मेलमिलाप गर्न नमिल्ने कानूनी व्यवस्था हँुदाहुदै पनि सबैलाई मेलमिलापमा टुुंग्याउन खोज्नुु र अदालतसम्म पुुुगे पनि अत्यन्त न्यून सजाय हुन विडम्बनापूर्ण छ । दलितलाई उच्च शिक्षासम्म छात्रवृति सहितको निशुल्क शिक्षाको व्यवस्था भनिँदा हालसालै पारित भएको शिक्षा ऐनमा त्यसलाई बेवास्ता गरिनु, भूमिहीन दलितलाई एकपटक कानून बनाएर भूूमि प्रदान गर्ने भनिएकोमा भूूमिसधार मन्त्रालयले त्यसमा तदारूकता देखाउनुको सट्टा अध्ययन गरिनपर्ने भनी पन्छाउने काम गरेको छ । मन्त्रिपरिषददेखि राज्यका हरेक निकायमा समावेशी हुने भनिएकोमा ओली सरकारमा एमाले पार्टीको एकजना पनि दलित मन्त्री नपर्नु, निजामति सेवामा भर्ना खुुल्दा टुक्रा–टुक्रा पारी खोल्नुु र त्यसमा भरसक समावेशी कोटा नपार्नु । राजदुत लगायत अन्य क्षेत्रमा नियुक्ति गर्दा दलित समुदायलाई पुरै बेवास्ता गर्नाले अहिलेको संविधानले निर्दिष्ट गरेको व्यवस्थाको कार्यान्वयन हुन्छ भन्ने कुरामा शंका पैदा गरेको छ । त्यसैले दलित र पिछडिएका समुदायलाई उभो लगाउनको लागि धुर्मुस र सुन्तली जस्ता समाजसेवीको आवश्यकता छ । (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्