३१ चैत्र २०७७, मंगलवार |


स्थानीय तह निर्वाचनको वातावरण बनेन : नेता पौडेल


एभरेष्टवीक
२६ फाल्गुन २०७३, बिहीबार ०२:४८

चितवन, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताएका छन् ।

जिल्ला विकास समिति महासङ्घ नेपालले यहाँ आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताए।

उनले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउनुहुँदै सबै दल निर्वाचन गराउने वातावरण तयार गर्न लाग्नुपर्ने बताए।

उहाँले भन्नुभयो “तीनतहको निर्वाचन तोकिएको समयमा नभए देश सङ्कटमा फस्छ ।” समस्याको निकास निकाल्न नसके दलको योग्यतामाथि नै प्रश्न उब्जिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कतै यो पुस्ता नै राजनीतिमा असफल त हुँदैन भन्ने डर बढेको छ ।” निर्वाचनबाट मधेसी मोर्चालाई बाहिर राख्न नहुने बताउँदै उनले संविधान जारी गर्दा मोर्चा बाहिर भएका कारण अहिले समस्या देखिएको बताए।

हिमाल, पहाड र तराईको एकतामा नै राष्ट्रियता भएको बताउनुहुँदै वरिष्ठ नेता पौडेलले तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाबीचमा सत्ताका लागि नभई व्यवस्थाका लागि सहमति आवश्यक रहेको बताउनुभयो ।

“यसले नै राष्ट्रिय एकता कायम गर्छ” पौडेलले भन्नुभयो । सप्तरी घटना दुःखद् भएको बताउँदै वरिष्ठ नेता पौडेलले घटनाले मधेसी मोर्चाको माग सम्बोधन नभएको र कुनै पनि दल कुनै पनि कार्यक्रम लिएर तराई जान नसक्ने वातावरण बन्नुले निर्वाचनलाई बाधा पुगेको बताए ।

कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, रामचन्द्र पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पुस्तकका लेखक कृष्णलाल सापकोटा लगायतले बोल्नुभएको थियो । पुस्तकमा सापकोटाको राजनीतिक, सामाजिक जीवन र आन्दोलनका बारेमा चर्चा गरिएको छ । कार्यक्रम महासंघका सभापति कृष्णप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्