३१ जेष्ठ २०७८, सोमबार |


मिर्मीवासीद्वारा एलडिओसहित कर्मचारी थुनिए


एभरेष्टवीक
१ चैत्र २०७३, मंगलवार ०७:०१

वालिङ, १ चैत । स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई सोमबार मिर्मीका स्थानीयवासीले थुनेका छन् । सोमबार जिल्लाको मिर्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् ।
कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन् ।
सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी थप आक्रोशित भएका हुन् । “सभाहलमा सार्वजनिक सुरु हुनासाथै आक्रोशित भीडले बाहिर र भित्र दुवैबाट च्यानल गेटमा तालाबन्दी गरेका हुन्, सभाहलमा जिविसका एलडिओसहितका कर्मचारी तथा कार्यक्रममा सहभागी अन्य स्थानीयवासी पनि थिए”, प्रत्यक्षदर्शी भोजराज अर्यालले बताए।
स्थानीयवासीले दिउँसो करिब १ घन्टा स्थानीय विकास अधिकारी अर्यालसहित जिविसका सूचना अधिकृत धनप्रसाद कोइराला, योजना अधिकृत यामप्रसाद रेग्मी तथा सार्वजनिक सुनुवाइमा सहभागी भएका व्यक्तिहरु पनि सभाहलमै थुनिएका थिए ।
एक हप्ताअघि स्याङ्जामा सरुवा भएर आउनुभएका स्थानीय विकास अधिकारी अर्यालले भने केन्द्र कहाँ राख्ने भन्ने विषय निर्वाचित जनप्रतिनिधिले बहुमतका आधारमा टुङ्गो लगाउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्