२ असार २०७८, बुधबार |


चट्याङ लागेर एकको मृत्यु, दुई घाइते


एभरेष्टवीक
४ चैत्र २०७३, शुक्रबार ०५:४१

बाजुरा, ४ चैत । उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् । कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताए ।

घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर दुई गोरु र एक बाख्रा मरेको पनि बताइएको छ । घाइते भएका दुवै दिदीभाइलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी र स्थानीयवासीको सक्रियतामा ल्याइएको निमित्त प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिनुभएको छ । घरको पूर्व भित्तामा चट्याङ परेर घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्