३१ चैत्र २०७७, मंगलवार |


बाख्रापालनबाट ‘नमुना उद्यमी’


एभरेष्टवीक
९ चैत्र २०७३, बुधबार ०९:००

बागलुङ, ९ चैत । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ ।
५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच÷छ वटा बाख्रा बिक्री गर्ने गरेको उहाँले बताए ।
“वार्षिक रु दुई लाखसम्म आम्दानी हुन्छ,” उनले भने । रु दुई लाख ५० हजारको लगानीमा सुरु गरेको बाख्रापालन सफल भएपछि थापाले माछापालन, तरकारीखेती र मौरीपालन समेत सुरु गरेका छन् ।
कृषि कर्मबाटै थापाले घरपरिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले खोर मर्मतका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु २० हजार अनुदान पाउनु भएको छ । थापाको बाख्रापालन फार्मलाई जिल्लाकै नमुना मानिन्छ । उहाँले आधुनिक र व्यवस्थित खोरमा बाख्रापालन गर्दै आउनुभएको छ । थापाको फार्ममा उन्नत जमुनापारि क्रस र स्थानीय खरी जातका बाख्रा, बोका र खसी छन् ।
एउटै बोका रु ११ हजारदेखि र रु २५ हजारसम्ममा बिक्री गर्ने गरेको थापाले बताउनुभयो । साना पाठापाठी भने रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेका छन् । थापालाई हेफर इन्टरनेसनलले केही वर्षअघि छवटा बाख्रा किन्न बिना ब्याज ऋण उपलब्ध गराएको थियो ।
सोही परियोजनाबाट नश्ल सुधारको लागि रु १२ हजार मूल्यको उन्नत जातको बोका पनि थापाले प्राप्त गर्नुभएको छ । नश्ल सुधारका लागि फार्ममा उन्नत जातको बोका पाल्ने गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्