९ श्रावण २०७८, शनिबार |


संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी


एभरेष्टवीक
२५ बैशाख २०७४, सोमबार ०८:५९

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेको संरक्षित क्षेत्रमा यस वर्षमात्र ३७ हजार १५३ हेक्टरमा आगलागी भएको छ ।
विभागले दिएको जानकारीअनुसार यसवर्ष १२ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रको ३७ हजार १५३ हेक्टरमा आगलागी भएको हो ।
आगलागी हुनेमा सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्जको जङ्गलमा छ हजार ८०० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने सबैभन्दा कमी मनास्लु संरक्षण क्षेत्रको जङ्गलमा पाँच हेक्टर क्षेत्रमा आगलागी भएको छ ।
यस्तै चितवन राष्ट्रिय निकुञ्ज ६५, बर्दिया राष्ट्रिय निकुञ्ज दुई हजार २६५, लाङ्टाङ राष्ट्रिय निकुञ्ज १५, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सात हजार ४५०, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज २३, मकालु वरुण राष्ट्रिय निकुञ्ज १३, रारा राष्ट्रिय निकुञ्ज सात, पर्सा वन्यजन्तु आरक्ष २५१, कञ्चनजङ्गा संरक्षण क्षेत्र २०० र अन्नपूर्ण संरक्षण क्षेत्रको ५९ हेक्टर क्षेत्रमा आगलागी भएको छ ।
विभागका महानिर्देशक मनबहादुर खड्काले यो वर्ष धेरै पानी परेकाले संरक्षित क्षेत्रमा आगलागी कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो – “आगलागी थोरै भएको छ, क्षति भने अहिलेसम्म केही भएको छैन ।” महानिर्देशक खड्काले २० वटा संरक्षित क्षेत्र भए पनि १२ वटा संरक्षित क्षेत्रमा एकदमै थोरै मात्रामा आगलागी भएको बताए ।
यस्तै वन विभागअन्तर्गत रहेको सामुदायिक तथा राष्ट्रिय वनमा भने यसवर्ष एकदमै थोरै मात्रामा आगलागी भएको छ । वन विभागका उपसचिव मोहन काफ्लेले दिएको जानकारीअनुसार सामुदायिक तथा राष्ट्रिय वनमा जम्मा दुई हजार हेक्टरमा आगलागी भएको छ ।
जङ्गलमा हुने आगलागीमध्ये ८० प्रतिशत आगलागी चैत र वैशाखमा हुने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्