३ असार २०७८, बिहीबार |


किविका उदाहारणीय किसान पासाङ तेन्जी


एभरेष्टवीक
७ असार २०७४, बुधबार ०८:०२

दोलखा । जिरी नगरपालिकाका पासाङ तेन्जी शेर्पाको नाम तीन क्षेत्रमा प्रसिद्ध छ । धेरैले पासाङ तेन्जीलाई आधुनिक फल किवि खेतीका किसान भनेर चिन्छन् । त्यसपछि उनी चिनिने अर्को क्षेत्र भनेको सामाजिक सेवा । समाजसेवीको रुपमा पनि उतिकै चर्चित छन् । त्यस्तै पासाङ तेन्जी चिनिने अर्को क्षेत्र हो होटल व्यवसाय । गोर्कण मन्दिर पुग्ने बेलाको बागमति नदि किनारमारहेका होटल व्यवसायले भने उनलाई चिनाएको मात्र छैन् आर्थिक रुपमा पनि सबल बनाएको छ । पासाङ तेन्जीलाई एक सफल व्यक्तित्व मान्दा फरक पर्दैन् । उनी आम युवाको लागि प्रेरणाको स्रोत हुन् । केही गरौं भन्ने भावका तेन्जीको सफलताको कुरा गरिरहँदा उनले भोगेका कष्टकर दिनहरु भुल्नु हुँदैन् । हरेक सफलताको पछाडी अनेकौं संर्घषका कथा लुकेको हुन्छ । २०३० सालमा किसान परिवारमा जन्मेका हुन् पासाङ तेन्जी । विद्यालय शिक्षा गाउँमा सकाएपछि २०५० मा पहिलो पटक काठमाडौं प्रवेश गरेका थिए । जागिरको लागि लामो समय भौतारिदा पनि नपाएपछि उनले के गरेनन् ? सडकमा बसेर मोजा बेच्नेदेखि चिया बेच्नेसम्म काम गरेको अनुभव तेन्जीसँग छ । २ वर्षसम्म निरन्तर सडकमा बसेर यस्तो अनुभव सँगालिरहँदा वैदेशिक रोजगारमा मन तानियो । ०५३ सालमा पहिलो पटक कुवेततिर लागे रोजगारीको लागि त्यही समयमा तत्कालिन राजकुमार दीपेन्द्र कुवेत पुगेका थिए । तेन्जीले पनि भेट्ने मौका पाएँ । दीपेन्द्रले त्यहाँ रहेका कामदारको अनुभव सुने । र आफ्नो केही कुरा पनि सुनाए । कुरा सुनाउनेक्रममा दीपेन्द्रले भनेका थिए ‘मलाई पीएचडी गर्ने मन छ ।’ दीपेन्द्रको पढाइ मोहले पासाङ तेन्जीलाई पनि प्रेरणा मिल्यो । उनलाई लाग्यो राजाका छोराहरु त यसरी पढ्दा रहेछन् । हामीले त झन पढ्नु पर्ने रहेछ । अहिले भोगिरहेको दुःख त नपढेर रहेछ । यसपछि उनी नेपाल फर्केर पशुपती क्याम्पसमा पढ्न थाले प्लस टु । पढाइसँगै गौशलामा कपडा पसल पनि गरे उनले । विड्म्बना, ०५८ मा दरवार हत्याकाण्ड भयो । दीपेन्द्रको पनि त्यही क्रममा ज्यान गयो । दीपेन्द्रको ज्यानै गुमेपछि तेन्जीको मन फेरि फेरियो । पढ्ने मन भाडियो । पढाइ र पसल दुबै छोडेर तेन्जी ताइवान हानिए । तर, पुगेन गन्तव्यमा । यो बीचमा उनले समस्या मात्रै झेले । दुःख अत्यन्तै पाए । नेपाल आएर इजरायलको प्रक्रिया अगाडि बढाए । त्यहाँपनि भाग्यले साथ दिएन् । अन्ततः उनी पुगे दुबैको जुमिरा कम्पनीमा । जुमिरामा ८ वर्ष विताए उनले । यो अवधिमा पासाङले तलब मात्रै थापिरहेनन् । सीपहरु पनि सिक्दै गए । होटलको काम प्रायः सबै सिके । यही अवधिमा उनले किवि भन्ने फलको बारेमा सामान्य ज्ञान पाए । त्यसबेलै तेन्जीले सोचेका थिए यस्तै फल फलाउन पाए त । दुबैमा रहँदा उनले एउटा गाइ फार्म डुलेका थिए । र, त्यो बेला पासाङले सोचेका थिए गाउँमा गएर म पनि गाइ फार्म खोल्छु । नेपाल फर्केपछि फार्म खोल्नको लागि प्रयास त गरे तर खोलेनन् । अनुसन्धनको क्रममा लगानी, बजार, जनशक्ती, चरिचरणको अभाव देखेपछि निरास बनेका पासाङको दिमागमा अर्को आइडीया फु¥यो । माछा पालन गर्ने । यसको लागि माछा पोखरी, व्यवसायी सबैलाई भेटेर काम थाल्ने निश्चित गरे । विड्म्बना, बौद्ध धर्ममा माछा पाल्नु राम्रो नमानिने भएकाले यो काम पनि अगाडि बढाउन सकेनन् । यसपछि पासाङ तेन्जीमा झन निरास छायो । अब के गर्ने भन्ने अन्योल रह्यो । यहीबेलामा विदेशमा सिकेको होटलसम्बन्धी सीप नेपालमै देखाउन मन लाग्यो । तर, त्यो लगानी उनीसँग कहाँ थियो र ? ठूलो होटल चलाउन नसकेपनि यस पटक भने उनले होटल खोलेरै छोडे । गोर्कणमा खाली जग्गा लिएर आफैंले टहरा बनाए र सुरु गरे सुकुवा घर । सुरुमा उनी आफैं भाडाँ माझ्थे । होटलको सबै काम गर्दथे । होटल नचल्ने हो की भनेर पासाङ तेन्जी खुब चिन्तित थिए । सोचे भन्दा फरक भयो । होटल मजाले चल्यो, त्यसरी चल्छ भनेर उनले सोचेका पनि थिएनन् । त्यसपछि उनले गाउँमा रहेको छोराछोरी बुढीलाई पनि काठमाडौं झिकाए र होटललाई व्यस्थित ढंगबाट चलाउन थाले । अहिले उनको होटलमा राम्रैसँग चलिरहेको छ । आम्दानी राम्रै छ । पासाङ तेन्जी फेसबुक सक्रिय छन् । समय मिलेसम्म चलाइरहन्छन् ।

होटल चलाउन थालेपछि ताप्तेजुङको एक जना कृषिको विद्यार्थीसँग फेसबुकमा चिनजान भयो उनको । त्यो विद्यार्थीलाई पासाङ सोधे, ‘नेपालमा कस्तो खालको खेती गर्दा राम्रो होला ।’ विद्यार्थीको उत्तरमा किवि खेती आयो । आफुले पनि लगाएको हुँदा किवि राम्रो रहेको समेत उस्ले सुल्झायो । विदेशमा रहँदा नै किविको बारेमा जानकारी पाएका पासाङ तेन्जी सुझाव पनि किवि खेती गर्नपर्छ भनेपछि चम्किए । किविको विज्ञ चन्दमान श्रेष्ठलाई लिएर गृहजिल्ला दोलखामा आफ्नो जग्गा हेर्न पुगे । चन्द्रमानले तेन्जीको जग्गा हेरेर हावापानी, जग्गाको आकार प्रकार सबै राम्रो भएको भनेपछि किवि खेतीको तयारीमा जुटे तेन्जी । यसबेला उनलाई गाउँलले हाँसेर उडउँथे । उनले कसैको कुरा सुनेन र साँडे २ वर्षअघि जिरीको जग्गामा रोपे किविको १२ सय विरुवा । त्यसको केही समयपछि २ सय ५० विरुवा थप गरे उनले । पहिलो पटक रोपेको विरुवाले फल दिन थालि सकेको छ । यस वर्ष करिब ५० किलो किवि फल्यो उनको बारीमा । सबै गाउँलेहरुलाई किवि चखाएपछि पहिला किविको नाम सुन्दा हाँस्नेहरु अहिले पासाङ तेन्जीसँग किविको बारेमा सोध्न थालेका छन् । विरुवा मगाइदिन आग्रह गरिरहेका छन् । तेन्जीले सर्वाखास कृषि फार्म प्रा.लि नै दर्ता गरेर किवि फार्म चलाइरहेका छन् । २ जनाले उक्त फार्ममा काम गरिरहेका छन् । उनी भने काठमाडौंमा व्यवसाय गर्छन् । फुर्सदको समय सामाजिक काममा खट्न्छिन् । बेलाबेलामा जिल्लामा फार्म भिजिटमा पनि पुग्छन् उनी । करिब ७० रोपनीमा फैलिएको उनको फार्मलाई भने अझै विस्तार गर्ने योजनामा छन् । झण्डै २५ सय विरुवा पारेर सयौं टन किवि उत्पादन गर्ने योजना छ उनको । अबको २ वर्षपछि उनले लगाएको १ बोटले झण्डै सय किलोको हारहारीमा उत्पादन दिन थाल्छ । प्रशस्तै उत्पादन भएर बजार नपाएको खण्डमा भने उनको वियर कम्पनी खोल्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्