२९ चैत्र २०७७, आईतवार |


आयातित खादाको प्रयोगमा रोक


एभरेष्टवीक
९ असार २०७४, शुक्रबार ०९:०६

म्याग्दी, ९ असार । सम्मान तथा सत्कार गर्दा रङ्गीबिरङ्गी आयातित खादा ओढाउने प्रचलनलाई म्याग्दी रघुगङ्गा गाउँपालिका–२ भगवतीमा रोक लगाएको छ ।

सो वडाका नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवालको अध्यक्षतामा बिहीबार बसेको बैठकले स्थानीयस्तरमा हुने सबै कार्यक्रममा अतिथि र पाहुनालाई सम्मान तथा सत्कार गर्दा आयातित खादाको सट्टा स्थानीयस्तरमै उत्पादन हुने फूलमाला तथा सामानको प्रयोग गर्ने नगर्ने निर्णय गरेको हो ।

परम्परागत संस्कृतिमा स्वागत र सम्मानमा फूलमाला नै जोडिएर आएको भए पनि पछिल्लो समयमा भित्रिएको खादा संस्कृति भड्किलो भएको र खादाको पुनः प्रयोगको समेत कुनै काम नहुने भएकाले खादा प्रयोग नगर्ने निर्णय गरेको वडाध्यक्ष कटुवालले बताउनुभयो ।

उहाँले सम्मान र सत्कारमा अहिले प्रयोग हुँदै आएको खादाले वातावरण प्रदूषणसमेत गराउने भएकाले सम्मान संस्कृतिलाई स्थानीय संस्कारसँग जोड्नु बढी उत्तम हुने बताउनुभयो ।

त्यस्तै बैठकले सो वडामा मुक्तिनाथ सदावर्त गुठीको नाममा रहेको सर्वसाधारणको जग्गालाई रैतनी परिणतका लागि जिल्ला मालपोत कार्यालयमार्फत भूमिसुधार मन्त्रालयलाई आग्रह गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्