३१ बैशाख २०७८, शुक्रबार |


मानक कृतिको मौलिक भाषामा जोड


एभरेष्टवीक
१० असार २०७४, शनिबार ०५:४९

काठमाडौँ, १० असार । कुनै पनि साहित्यको महान् युग भनेको महान् अनुवादकहरु उदाएको युग हो भन्ने अमेरिकी कवि एज्रा पाउन्डको कथनलाई मूर्त रुप दिन नेपाली अनुवादकहरु पनि लागिरहेका छन् ।

भानुभक्त आचार्यले ‘अध्यात्म रामायण’को मौलिकतासँगै भावानुवाद पनि गरेको ‘रामायण’ संस्कृतबाट नेपाली भाषामा नआउँदो हो त अहिले नेपाली धर्म, संस्कृति, दर्शन, भाषा, साहित्य र राष्ट्रिय एकताको स्थिति कस्तो हुँदो हो ? जस्तो अहिले हाम्रा महाकवि, कविशिरोमणि, युगकवि, राष्ट्रकवि, प्रथम गद्यकवि, आख्यानपुरुष, उपन्यास सम्राट्, निबन्ध शिरोमणिका कविता, कथा–उपन्यास, निबन्ध यथेष्ट मात्रामा विश्वका विभिन्न भाषामा अनुवाद नहुँदा नेपाल विश्वस्तरमा गनिने अवसरमा पछाडि परेको छ ।
मोतीराम भट्ट, देवकोटा, विलियम कर्कपेटिक, तीर्थराज तुलाधर, योगी नरहरिनाथ, चक्रपाणि चालिसे, बदरीनाथ भट्टराई, नयराज पन्त, ऋषिकेश शाह, भिक्षु अमृतानन्द, डा कमलप्रकाश मल्ल, माधवलाल कर्माचार्य, देवेन्द्रराज उपाध्याय, कृष्णप्रकाश श्रेष्ठ, राजेन्द्र मास्के, डा अभि सुवेदी, डा गोविन्दराज भट्टराई, शान्तदास मानन्धर, करुणाकर वैद्य, पिटर जे कार्थक, बलराम अर्याल, खगेन्द्र सङ्ग्रौला, माइकल हट, प्रा डा पद्मप्रसाद देवकोटा, युयुत्सु आरडी शर्मा, कल्पना घिमिरे जस्ता पुराना र हालका महेश पौड्याल, बलराम अधिकारी, तीर्थ भट्टराई, धीरेन्द्र पे्रमर्षि, गायत्री विष्ट, अच्युत कोइरालाको योगदान स्तुत्य छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले विसं २०६१मा अनुवाद विभाग नै स्थापना गरेर यस कार्यलाई अझ अगाडि बढाएको छ । गङ्गाप्रसाद उप्रेती नेतृत्वको वर्तमान अनुवाद विभागले विसं २०७१ देखि हालसम्म नेपाली, अङ्ग्रेजी, हिन्दी, मैथली र भोजपुरी भाषामा गरी १९ वटा अनुदित कृति ल्याइसकेको विभाग प्रमुख प्रा डा उषा ठाकुरले जानकारी दिनुभयो ।
बिपी कोइरालाको ‘बाबु, आमा र छोरा’ उपन्यास (अनु पुनम झा) देवकोटाको चम्पा उपन्यास (अनु ध्रुव सहनी), भोजपुरी भाषाको थरुहट बहुआ और बहुरिया ( छोरा र बुहारी, नेपालीमा भउचप्रसाद यादव) कृति बजारमा आइसकेका छन् । त्यस्तै मन्नु भण्डारीका कथाहरु (हिन्दीबाट अङ्ग्रेजी, अनु रामबहादुर पहाडी), नेपाल भाषाका प्रतिनिधि कविताहरु ( अङ्ग्रेजीमा अनु नवीन चित्रकार), विश्वका प्रमुख कथाकारका कथाहरु (अङ्ग्रेजीबाट नेपालीमा अनु बलराम अधिकारी), विश्वका महिला कथाकारका कथाहरु(अङ्ग्रेजीबाट नेपालीमा अनु ऋचा शर्मा)लगायत कृतिले अनुवाद पाएका छन् ।
इन्दिरा प्रसाईँको ‘रनमाया’ उपन्यास( अङ्ग्रेजी अनुवाद, केशव सिग्देल), सार्क महिला कथाकारका कथाहरु (नेपाली अनुवाद, माया ठकुरी), शरच्चन्द्र चटोपाध्यायको ‘देवदास’ उपन्यास (नेपाली अनुवाद, श्याम प्रधान), रवीन्द्रनाथ ठाकुरका कथाहरु(नेपाली अनुवाद, चतुर्भुज केवरत), कमल रिजालको ‘सुकर्म’ उपन्यास(हिन्दी, टीकाराम वाग्ले), लघुकथाः एक सङ्क्षिप्त परिचय(हिन्दी, श्रीओम रोदन र गोपाल अश्क), पौराणिक आख्यान (नेपाली, प्रा नारायण गौतम) आदि कृति पनि पनि प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिसकेको छ ।
नेपाली मातृभाषा (भोजपुरी, अवधी आदि)का अन्य कृृति तथा समकालीन नेपाली कविता प्रथम भागको हिन्दी अनुवाद पनि छिट्टै आइपुग्ने प्रा डा ठाकुरले जानकारी दिनुभयो ।
डायमनशम्शेर राणाको ‘सेतो बाघ’ र भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यास तथा कृष्ण प्रसाईँको ‘घामको वर्षा’ धेरै भाषामा अनुदित हुने कृतिमा पर्छन् । बिपी कोइरालाका प्रायः सबै कृतिहरु अन्य भाषामा अनुदित भएको डा तुलसी भट्टराईले विभागद्वारा गत जेठ ३१ गते आयोजित अनुवाद गोष्ठीमा प्रस्तुत ‘वि. पी. कोइरालाका अनूदित कृतिहरु’ शीर्षक कार्यपत्रमा उल्लेख छ । “ अचेल अनुवादकले पनि महत्व पाउन थालेका छन् । यसको कारण हो–अनुवाद साहित्यले मान्यता पाउनु तथा विश्वविद्यालयहरुमा स्नातक र स्नातकोत्तर पढाइ हुनु, विद्यावारिधिको समेत व्यवस्था हुन लागेपछि अनुवाद साहित्य र अनुवादकहरुको मानभाउ बढ्दै गएको हो भन्न सकिन्छ”, प्रा डा भट्टराई र उपप्राध्यापक अधिकारीलाई उद्धृत गर्दै डा भट्टराई बताउनुहुन्छ ।
रुसी साहित्यका जानकार प्रा डा जङ्गब चौहानको ‘नेपालीमा अनुदित रुसी साहित्य’शीर्षक कार्यपत्रमा भन्नुहुन्छ, “उत्कृष्ट लेखकका सिर्जनात्मक कृतिहरुको अनुवाद भनेको भाषिक अनुवाद कार्य मात्र नभएर विचार र भावनाको प्रतिरोपण हो,…यस प्रकारको भावनात्मक जगमा निर्माण गरिएको द्विपक्षीय मैत्री सम्बन्ध वास्तविक अर्थमा चलायमान हुन्छ ।”
भद्रकुमारी घलेको ‘कला र जीवन’(आर्ट एन्ड लाइफ) र प्रतीक ढकालको ‘हिमालपारि पुगेपछि’(बियोन्ड द हिमालयज) कृतिका अनुवादक पत्रकार तीर्थ भट्टराईको विचारमा नेपाली भाषाका गहन र चर्चित साहित्यिक तथा अन्य विधाका कृतिको अनुवादमा प्रज्ञा–प्रतिष्ठान, सङ्घसंस्था र अनुवादकहरु लाग्नुपर्ने देखिन्छ ।
साहित्यकार महेश पौड्याल भने नेपालीबाट अङ्ग्रेजीमा अनुवाद भइरहेका कृतिमा अङ्ग्रेजीको मौलिक भाषा आउन नसकेको असन्तुष्ट हुनुहुन्छ । “हामीले त विद्यालय–कलेजमा अङ्ग्रेजी पढेर प्राविधिक अनुवाद मात्रै गरिरहेका छौँ, अलिकति लाज पनि लागेको छ” उहाँ भन्नुहुन्छ । ‘राधा’(कृष्ण धरावासी) र ‘सकस’ उपन्यास, ‘बीस मानक नेपाली कथा’, ‘सगरमाथाको नृत्यमग्न आत्मा’ कवितासङ्ग्रह, ‘राजेश्वर कार्कीका कविता’, लाक्टाफुटी शेर्पाको ‘हिमालमा चालिस वर्ष’ संस्मरणात्मक कृतिको अनुवाद गरिसक्नुभएका पौड्याल ‘सुम्निमा’, ‘माधवी’, ‘शिरीषको फूल’ जस्ता मानक कृतिको वास्तविक मौलिक अङ्ग्रेजी अनुवादमा जोड दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्