३ बैशाख २०७८, शुक्रबार |


प्रसूति गृहको सेवा सहज बनाउन सौर्य प्रणाली


एभरेष्टवीक
११ असार २०७४, आईतवार १५:१०

काठमाडौँ, ११ असार । बिजुलीको वैकल्पिक व्यवस्था गरेर अस्पतालले दिने सेवालाई अझ प्रभावकारी बनाउन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सौर्य प्रणाली जडान गर्ने भएको छ ।

देशकै सबैभन्दा धेरै शिशुले जन्म लिने अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले रु २५ लाखको लागतमा सोलार जडान गर्ने भएको हो ।

अस्पतालमा हरेक दिन ६० भन्दा बढी सुत्केरी हुन्छन् । तीमध्ये कतिपयको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ । अन्य स्त्री रोगको उपचार गर्दा शल्यक्रियासमेत गर्नुपर्ने भएकाले वैकल्पिक बिजुलीका लागि १५ किलोवाटको सौर्य प्रणाली जडान गर्न लागिएको अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

“कहिलेकाहीँ भोल्टेज कम हुँदा समस्या हुन्छ, सौर्य प्रणाली भएपछि शल्यक्रियाका सामान निर्मलीकरण गर्न तथा शल्यकक्ष र अन्य अत्यावश्यक ठाउँमा बत्तीको व्यवस्था हुन्छ”– उहाँले भन्नुभयो ।

सौर्य प्रणाली जडानका लागि सबै काम पूरा भइसकेको छ । यो महिनाको अन्तिममा सबै काम सकिएर सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।

अस्पतालले हरेक महिना बिजुलीका लागि करिब रु छ लाख विद्युत् प्राधिकरणलाई बुझाउँदै आएको छ । यो रकम जाडो महिनामा रु ११ लाखभन्दा बढी हुने वरिष्ठ लेखा अधिकृत गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिल्यै पनि बिजुलीको शुल्क बक्यौता राख्दैनाँै, अस्पतालमा बिजुलीको समस्या नहोस् भनेर नयाँ जेनेरेटर ल्याएका छौँ ।

प्रतिक्रिया दिनुहोस्