२८ जेष्ठ २०७८, शुक्रबार |


पहाड र तराईबीचको विभाजन चिर्न एमालेलाई जिताऔँ : अध्यक्ष ओली


एभरेष्टवीक
११ असार २०७४, आईतवार १६:५१

बुटवल, ११ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीचको विभाजन गराउने षड्यन्त्र चिर्न स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गर्नु भएको छ ।

यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा आज बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव गरेपनि एमालेको विरोधका कारण स्थगन भएको बताउनुभयो ।

सम्बोधनको सुरुमै उपमहानगरपालिकाका एमालेका उम्मेदवारहरु प्रमुख शिव सुवेदी र उपप्रमुख गोमा आचार्यलाई माला लगाइँदिँदै उहाँले भन्नुभयो, “यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो विजयको माला कसैले फुकाल्न सक्दैन ।”

कार्यक्रममा पूर्व—पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशमा विश्वविद्यालय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवम् कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको र यो पार्टी नेपालको विकासका लागि समर्पित छ भन्नुभयो ।

विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न एमालेले आग्रह गरेपनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विराटनगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गर्दै उहाँले एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थान पनि महानगर घोषित हुने उद्घोष गर्नुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेसँग देश विकासको स्पष्ट अवधारणा रहेकाले देशको विकास र आर्थिक समृद्धिका लागि जनताले एमालेलाई विजयी बनाउने निश्चित रहेको बताउनुभयो ।

अर्का उपमहासचिव घनश्याम भुसालले एमालेसँग विकासको स्पष्ट योजना रहेको बताउँदै नेपाली काँगे्रस र नेकपा (माओवादी केन्द्र)ले एमालेसँग सिक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्