२९ चैत्र २०७७, आईतवार |


रक्त सञ्चार सेवा अब ताहाचलबाट सञ्चालन हुने


एभरेष्टवीक
११ असार २०७४, आईतवार १६:५३

काठमाडौँ, ११ असार । नेपाल रेडक्रस सोसाइटीले ललितपुरस्थित ग्वार्काेमा रहेको अस्थायी रक्त सञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने भएको छ ।

यसका लागि अस्थायी प्रिफेव भवन निर्माण सुरु गर्न लागिएको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिनुभयो ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भृकुटीमण्डमा रहेको सेवा केन्द्रको भवनलाई पूर्ण क्षति पु¥याएपछि सोसाइटीले तत्काल सेवालाई अवरुद्ध हुन नदिन ग्वार्काेबाट सेवा प्रवाह गरेको थियो ।

स्वयंसेवी रक्तदाता एवम् रगतको खाँचो परी रगत लिन जानेहरुले सो स्थान अपायक भएको गुनासोलाई ध्यानमा दिई पुन केही समयका लागि स्थान सार्न लागिएको उहाँले बताउनुभयो ।

अर्काेतर्फ भृकुटीमण्डपमा नै विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नयाँ भवन निर्माण गर्ने कार्य पनि सोसाइटीले एकै साथ अगाडि बढाएको छ । उपमहामन्त्री न्यौपानेले भन्नुभयो – “भवन निर्माणका लागि बोलपत्र आह्वान भई ठेकेदार छनोटको कार्य सम्पन्न भइसक्यो, छिटोछिटो भन्दा निर्माण कार्य अगाडि बढ्छ, रक्त सेवालाई चाहिने आधुनिक उपकरण, प्रयोगशाला पनि जडान हुन्छ ।”

विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोग जस्ता बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको माग काठमाडौँ, पोखरा, नेपालगन्जलगायत प्रमुख सहरमा दिनप्रतिदिन बढ्दै गएका छन् ।

केन्द्रका निर्देशक डा मनिता राजकर्णीकारका अनुसार देशभर दैनिक रुपमा दुई हजार युनिट रगतको खोजी रक्तसञ्चार सेवा केन्द्रमा मात्र हुने गर्दछ । हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १०५ स्थानबाट रक्त सञ्चार सेवा सञ्चालनमा रहेको छ । रगतको माग र आवश्यकतालाई पूरा गर्न केन्द्रलाई मुस्किल परिरहेको बताइन्छ ।

रक्तदान कार्यक्रम सुरुवात भएको पहिलो वर्ष विसं २०२१ मा १५७ युनिट रगत सङ्कलन भएको थियो । गतवर्ष करिब तीन लाख ११ हजार युनिट रगत सङ्कलन भई रगत तथा रगत तत्व वितरण भएको केन्द्रले जनाएको छ । विसं २०२० भदौ १९ गते स्थापना भएको रेडक्रस सोसाइटीले विसं २०२३ साउन १२ गतेदेखि रक्तदान कार्यक्रमको सुरुवात गरेको थियो ।

सोसाईटीका पूर्वकेन्द्रीय सदस्य डा गौरीशङ्करलाल दासका अनुसार चिकित्सक धनञ्जय रिमालले तत्कालीन राजा महेन्द्रको रगत झिकेर रक्तदान कार्यको विधिवत् सुरुवात् गर्नुभएको थियो । पहिलो रक्तदाता परोपकार संस्थाका सस्थापक दयावीर कसांकारले गर्नुभएको थियो ।

अर्काेतर्फ दैनिक रुपमा ७८ प्रतिशत स्वयम्सेवी रक्तदाता र २२ प्रतिशत बिरामीका आफन्तबाट अर्थात् शोधभर्नाबाट सङ्कलन गर्नुपर्ने बाध्यता केन्द्रसँग छ । अर्काेतर्फ चिकित्सकले शल्यक्रियालगायत अन्य जटिल उपचार गर्नुपूर्व बिरामीका आफन्तलाई रगत जम्मा गर्न लगाउने तर सो रगत पूरै प्रयोगमा नआउँदा कति रगत मिति नाघेर खेरा जान्छ भन्ने एकीन तथ्याङ्क कुनै निकायसँग छैन ।

कूल रक्तदातामध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रहेका छन् । केन्द्रसँग रगतका तत्वअनुसार तीनदेखि सात दिनसम्म भण्डारण गर्ने क्षमता मात्र रहेको छ ।

‘निर्धक्क रगत दिऔँ र लिऔँ’
राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको ‘गाइड लाइन’ र यसले सिफारिस गरेका मापदण्डअनुसार नै ‘¥यापिड’ र ‘इलाइज’ प्रविधिबाट नेपालमा रक्त परीक्षण हुँदै आएको जनाएको छ ।

प्रयोगशालाका निर्देशक डा राजकुमार महतोले भन्नुभयो– “रक्तदाताबाट प्राप्त रगतमा जीवाणु सङ्क्रमण हुने सम्भावना रहन्न, स्वच्छ व्यक्तिले निर्धक्क रुपमा रगत दान गर्दा केही हुँदैन ।”

हाल रक्तसञ्चार सेवा केन्द्रले रक्तदाताबाट प्राप्त रगत एचआइभी, हेपाटाइटिस बी र सी तथा सिफिलिस परीक्षण गरेर मात्र वितरण गर्ने गर्दछ । यसका साथै रगत समूह, बिरामीको रगतसँग क्रस म्याचिङ गरेर मात्र वितरण हुन्छ । निर्देशक डा महतोले भन्नुभयो, “एचआइभीको भाइरस पत्ता लगाउन सङ्क्रमण भएको दसदिन लाग्छ, ‘¥यापिड’ र ‘इलाइज’ प्रविधिबाट २१ दिन लाग्छ, रगतलाई सुरक्षित बनाउन हाम्रो ध्यान गएको छ ।”

प्रयोगशालाका चिकित्सक डा राज्यश्री कुँवर ‘विण्डो परियड’मा रगतबाट जीवाणु सङ्क्रमण हुने सम्भावना अतिन्यून हुने जाकारी दिनुहुन्छ । विश्वका वैज्ञानिकले हालसम्म मानव शरीरलाई आवश्यक पर्ने कृत्रिम रगत र तिनका प्रकार आविष्कार गर्न सकेका छैनन् । यसैले स्वच्छ व्यक्तिले दिने रगतले नै अर्काे बिरामी व्यक्तिले प्रयोग गरी नयाँ जीवन प्राप्त गर्दछ ।

अर्काेतर्फ रक्तदान गरेर दातालाई कुनै हानी हुँदैन । चिकित्सकका अनुसार रगतमा भएको रातो रक्तकण भरिरहन्छ, त्यसको परिपूर्ति तीन महिनामा भइहाल्छ । मानिसको वजनको करिब आठ प्रतिशत रगत हुन्छ । औसत तौलको मानिसमा चार लिटर रगत हुन्छ । यसैले ३०० देखि ३५० मिलिलिटर रगत झिक्दा शरीरलाई केही हानी नपुग्ने चिकित्सक कुँवर बताउनुहुन्छ ।

पहिलो स्वास्थ्य नीति, २०४८ ले नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । यही जिम्मेवारीअन्तर्गत केन्द्रले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअन्तर्गत रही रक्तदाताले दान गरेका रगत र तिनको तत्व सुरक्षित र गुणस्तरीय रुपमा बिरामीसम्म पु¥याइरहेको छ । रगत तथा रक्ततत्वलाई तापक्रमको खराब असर पर्न नदिन ‘ब्लड कोल्ड चेन’ प्रणालीलाई प्रभावकारी बनाइएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्