३१ चैत्र २०७७, मंगलवार |


बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई गृहमन्त्रीको धन्यवाद


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १६:२७

दाङ, १४ असार । निर्वाचनमा खटिइएका एक प्रहरी हवल्दारले आफ्नो ज्यानको पर्वाह नगरी अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम टिपेर बाहिर फाल्ने साहस देखाए ।

तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । नेपाल प्रहरीका साहसी हवल्दार दुर्गाबहादुर रानाले उक्त बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाउनुभयो ।

“बिहान वरपर कुहिरो लागेको थियो, म मतदान केन्द्रको सुरक्षाका लागि खटिएका थिएँ, धुँवा उड्दै एउटा डल्लो वस्तु मेरो अगाडि प¥यो र मैले झटपट टिपेर जहाँबाट आएको हो त्यही फ्याकी दिएँ, अनि ठूलो आवाजमा पड्कियो” – हवल्दार रानाले भन्नुभयो ।

उहाँका अनुसार बिहान करिब ९ः३० बजेको समयमा मतदान केन्द्रलाई लक्ष्य गरी उत्तरतर्फबाट बम प्रहार भएको थियो । रानाले भन्नुभयो, “मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कति बेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।”

उहाँले बम पड्केर हुने क्षतिबाट सबैलाई बचाउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई टेलिफोन गरेर धन्यवाद दिनुभएको छ ।

गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गर्नुभएको छ । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्