२ असार २०७८, बुधबार |


उपराष्ट्रपतिबाट सम्पूर्ण मतदातालाई बधाई तथा धन्यवाद


एभरेष्टवीक
१४ असार २०७४, बुधबार १६:३८

काठमाडौँ, १४ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले दोस्रो चरणको स्थानीय तह निर्वाचन मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा हामी नेपालीहरु गौरव गर्दछौँ भन्नुभएको छ ।

उपराष्ट्रपतिले आज धन्यवाद सन्देश जारी गर्दै स्थानीय तह देशको समृद्धि र सुदृढ लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धि नेपालको ढोकासमेत खोल्ने बताउनुभयो ।

सन्देशमा उहाँले भन्नुभएको छ –“सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घर, आँगनमा पु¥याउने, जनताले आफ्नो शासन आफँै गर्ने, स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई महाउत्सवका रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्नुहुने सम्पूर्ण मतदातालाई म बधाई तथा धन्यवाद दिन चाहन्छु ।”

सानातिना छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयम्सेवक लगायतलाई उपराष्ट्रपति पुनले धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता भएको बताउँदै सरकार र राजनीतिक दल आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट समस्या समाधान गर्दै तेस्रो चरणको निर्वाचनमा जुट्ने तथा तेस्रो चरणको निर्वाचन पनि साँच्चिकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्