२९ बैशाख २०७८, बुधबार |


विद्युत् आयोजनाको काम सुरु


एभरेष्टवीक
१६ असार २०७४, शुक्रबार ०९:५३

चौतारा १६ असार । सिन्धुपाल्चोकको मध्यक्षेत्रमापर्ने बलेफी (ब्रम्हायणी) करिडोरमा ४३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ ।

साविक गुम्बा गाविस– ८ हाल जुगल गाउँपालिका– ३ स्थित अम्बाखर्कमा विद्युतगृह निर्माण गरिने ‘अपर नेशम खोला जलविद्युत्’ आयोजनाको ३४ किलोमिटर प्रवेश मार्गमध्ये २६ किलोमिटर सडकको निर्माण भइसकेको आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडद्वारा रु ६ अर्ब ६० करोडको लागतमा निर्माण हुनलागेको सो आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)समेत भइसकेको छ ।

आयोजनाका लागि सोही गाउँपालिका अन्तर्गत तत्कालीन पाङताङ गाविसमा सवस्टेसन निर्माण गर्ने कार्यक्रम रहेको र त्यसका लागि रु ७५ करोड बजेट स्वीकृत भई जग्गा खरिदसमेत भइसकेको छ । अन्य कामको लागि बोलपत्र आह्वानको प्रक्रियामा छ । सवस्टेसनको काम सम्पन्न भएपछि आयोजनास्थलबाट त्यहाँसम्म १५ किलोमिटर प्रशारण लाइन निर्माण गरी उत्पादित विद्युत्लाई राष्ट्रिय विद्युत् लाइनमा जोडिनेछ ।

विसं २०७७को असारमसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनामा एक हजार ३०० मिटर सुरुङमार्ग निर्माण गरिनेछ । आयोजनाबाट जिल्लावासीलाई १० प्रतिशत र सर्वसाधारणको लागि २५ प्रतिशत सेयर वितरण गरिने आयोजनाका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त करिडोरमा ३६ मेगावाटको अपर बलेफी, १० दशमलव छ मेगावार्टको बलेफी ‘ए’ आयोजना निर्माण भइरहेको छ भने २० मेगावार्टको तल्लो बलेफी निर्माणाधिन छ ।

प्रतिक्रिया दिनुहोस्