३ असार २०७८, बिहीबार |


चट्याङ लागेर दुई घाइते


एभरेष्टवीक
१२ चैत्र २०७५, मंगलवार १२:०८

भद्रपुर, १२ चैत ।  आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हावाहुरीले झापाका विभिन्न स्थानमा बिजुलीका आधा दर्जनभन्दा बढी खम्बा ढालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार भद्रपुर नगरपालिका–१० स्थित भद्रपुर विमानस्थलको पूर्वपट्टि, गौरदाह–७ ग्वालडुब्बामा एक–एक र बिर्तामोड नगरपालिका–५ मा बिजुलीका दुई खम्बा ढलेका छन् । त्यसैगरी हावाहुरीले मेनपा–१५स्थित नरेश लिम्बू र कचनकवल गापा–६ बस्ने झड्कन ठाकुरको घरको टिनको छानो उडाएको छ भने भद्रपुर–८ स्थित सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । आज बिहान ८ देखि करीब १० बजेसम्म पानीसँगै हावाहुरी र चट्याङ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्