३० चैत्र २०७७, सोमबार |


दक्षिण अफ्रिकामा गैंडा चोरीशिकारी घट्यो


एभरेष्टवीक
६ आश्विन २०७६, सोमबार ०८:०१

www.worldwildlife.org

केप टाउन, ६ असोज (रासस-सिन्ह्वा) दक्षिण अफ्रिकाले गैंडाको चोरीशिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताउनुभएको छ । वातावरण, वन तथा मत्स्यपालन मन्त्री बारबराले यस वर्ष जनवरीदेखि जुनसम्मका छ महिनाको अवधिमा देशभर करिब ३१८ वटा गैंडाको चोरीशिकारी गरेको जानकारी दिनुभयो । अघिल्लो वर्षको यही अवधिमा ३८६ गैंडाको चोरीशिकारी भएको थियो । विश्व गैंडा दिवसको सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बारबराले उक्त जानकारी दिनुभएको हो । अफ्रिकाको उत्तरमा रहेको क्रुगर राष्ट्रिय निकुञ्जमा चोरीशिकारी बढेको तथ्याँक छ । मन्त्री बारबराका अनुसार यसै वर्षको छ महिनामा यस निकुञ्ज क्षेत्रमा १९० वटा मारिएका छन् । अफ्रिकाकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा रहेको यस निकुञ्जमा यस वर्षको छ महिनामा एक हजार २०२ वटा चोरीशिकारसँग सम्बन्धित घटना भएको पाइएको छ । उहाँले गैंडा जोगाउन दक्षिण अफ्रिकाले एकीकृत रणनीतिक कार्यविधि कार्यान्वयन गरिरहेको र यसको नतिजा निकै सकारात्मक रहेको जानकारी दिनुभयो । गैंडाको सिङको माग निकै बढेका कारण अफ्रिकाका सरकारी र निजी निकुञ्जबाट गैंडाको चोरीशिकारी बढेको हो । निकुञ्ज आसपासका जनताको जीवनस्तर उकास्ने तथा निकुञ्जको आम्दानीमा उनीहरुको हिस्सेदारी बढाउने उपाय अवलम्बन गरेका कारण पनि गैंडा समेतका जीवजन्तुको चोरीशिकारी रोक्न सफलता मिलेको मन्त्री बारबराले बताउनुभयो । उहाँले यो अभियानलाई अझ व्यापक बनाउने अफ्रिकी सरकारको योजना रहेको पनि जानकारी दिनुभयो । दक्षिण अफ्रिकामा विश्वका कूल गैंडामध्ये झण्डै ८५ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्