९ श्रावण २०७८, शनिबार |


समृद्धि र विकास दिने पार्टी आवश्यक


Everest Week
२६ फाल्गुन २०७७, बुधबार १५:०८

ध्रुवकुमार मण्डल


मान्छे जन्म लिन्छ, ठूलो हुन्छ र एक दिन यसै धरतीमा आफ्ना प्राण त्याग गर्दछ । यो ध्रुव सत्य हो । यसलाई कसैले नाई भन्न सकेन न त यसको प्रतिकार गर्न सके न त यसलाई परिवर्तन गर्न सके । यो धरतीमा जन्म लिने मानिसको पनि आफ्नो पहिचान, सम्मान आत्मसम्मान, चिन्तन र आफ्नो स्वभिमानको साथै जन्मेको ठाउँ र जगत जीवनलाई सार्थकता प्रदान गर्दछ । वर्तमान अवस्थामा नेपालको इतिहासमा नेपाललाई हाम्रा पूर्खाले तीन भागमा विभाजन गरेको पाइन्छ पहाड, हिमाल र तराई । सन्दर्भ तराईको आउँछ तराईलाई इतिहासले मधेश भनेको छ कि मध्य देशको अपभं्रश मधेश र हो । नेपालको संविधान र नेपाली राजनेताहरु त स्विकार गरी सके तर मधेशको नाममा राजनीति गर्ने मधेशवादीहरु खोक्रो मधेशी दल भइ सकेको स्पष्ट देखिन थालेको छ । वरु मधेश विरोधी भनिनेहरुले मधेश शब्ददेखि मधेशीको हितमा काम गरेको र गरिरहेको देखिन थालेको छ । उहाँको भाव नबुझेको जस्तो लागि रहेको छ तर एक दिन मधेशले पनि साथ दिने छ । किनभने मधेश भनेको गरिब, अल्पसंख्यक, पिछडिएको, जनजाती, आदिवासी र कमजोर वर्गका मानिसको बाहुल्यता रहेको क्षेत्र हो तर यहाँको शासन भने केहीं मुठी भरको सामन्तहरुले गरेको छ र त्यसलाई सच्याई हाम्रा देशका सरकार र बरु मधेश विरोधीहरुले नै मधेश र मधेशीको हितमा काम गरेको र मधेशका ति वर्गलाई अगाडी बढाउन लाग्दा यी मधेशवादी भनाउँदाहरुलाई कचोट हुने गरेको छ । मध्यदेशको अपभ्रश हो मधेश र वर्तमान अवस्थामा स्थापित भइ सकेको यो मधेश शब्द र मधेशवादलाई केही मधेशी तत्वदेखि नै खतरा देखिन थाल्दा मधेशमा आक्रोश र वैकल्पिक शक्तिको खोजी भइ रहेको छ ।
पहिला बृटिश इष्ट इण्डिया कम्पनीलाई तराईको कुत बुझाउने गरेको इतिहास छ । पछि पृथ्वीनारायण साहले मकवानपुर र उपत्यका विजय गरे । सैन्य बलको मद्दतले मकवानपुरवाट तिरहुतिया सेनालाई हटाई तराईका जनतालाई उपत्यका निषेध गराए त्यसपछि तराईका उर्वर–भूमि राजपरिवारका सदस्यहरु, भारदारहरु, सैनिक उच्चअधिकारीहरु, उच्च पदस्थ कर्मचारीहरु, राजगुरु, राजपुरोहितलाई बक्सिस, विर्ता, जमिन्दारी, जागीरदारी, तालुकदारी, गुठी आदिको रुपमा वितरण गरिदिए । १८१४ई. देखि १८१६ ई. सम्म बृटिश ईष्ट इण्डिया कम्पनी सरकार र नेपाल सरकारबीच भएको युद्धको परिणामवाट निर्मित क्षेत्र हो तराई ।
जब नेपालमा मुलुकी ऐन आए त्यसमा कर सम्बन्धी व्यवस्था गरियो । र मुलुकी ऐनको अदालती बन्दोवस्त २०१२ को ज्यानसम्बन्धी महलको १५२ को दफा (१) को उपदफा १,२,३ र ४ मा नेपाल र पहाड प्रदेशको बादीबाट १० या १५ रुपैया तथा प्रतिवादी बाट २५ रुपैयाँ जमानत स्वरुप लिने प्रावधान लगाए भने मधेश प्रदेशको बादी र प्रतिबादी दुबै बाट १००–१०० रुपैया जमानतको रुपमा लिने प्रावधान स्थापित गरे । जुन अन्य प्रदेश भन्दा ४ गुणा बढी भयो तर मधेश नामाकरण भने गरियो ।
त्यसपछि जब देशमा कुरा उठिन थाल्यो र सत्यता पनि हो तराईलाई स्थापित नेपालको शक्तिको श्रोत (कन्स्टिचुयन्ट युनिट) का रुपमा नै राखे किनकी यस क्षेत्रमा कृषि उत्पादन र भारतको खुला सिमानाको कारण आर्थिक उत्पादन बढी रहे र यस क्षेत्रमा आएपछि ठूलो धनराशि जोड्न मिल्छ भने भावना पलायो र मधेशमा जाउँ भन्ने कर्मचारी पनि उत्सुक भए र फलस्वरुप मधेशको नामको शिलशिलामा थप बल भेटेको देखिन्छ । हुनत यसक्षेत्रलाई सन १८४६ देखि नै उपनिवेशको रुपमा परिभाषित गरेको विभिन्न श्रोतवाट देखिन्छ । तत्कालिन राजा महेन्द्रको सवारी अछाम हुँदा हुकुम वक्समा तराईको उर्वरा वन जंगल भूमीमा सत्तालाई सहयोग गर्ने परिवारलाई वसाईसराई गराउने भन्ने निर्देशन भएबाट पश्चिम तराईका जिल्लाहरुमा वन फडानी गरि संयुक्त बसोवासको वातावरण बनाइयो ।
त्यसपछि सरकारले मधेसमा पुनर्वास गराउने माध्यमवाट मधेशको जनजातीय र सांस्कृतिक परिवर्तन गराउने हिसाबले क्रमवद्ध प्रयासहरु थाले । तर पनि तराईमा विकासको लागि केहि युवाहरु तात्कालिन अवस्थामा विरोध पनि गरे । सन् १८५७ मा विरोध भए जसमा दुर्गानन्द झा, रघुनाथ ठाकुर जस्ता मधेशका युवाहरु थिए । पछि सन् १९५० को दशकको शुरुमै तराई काँग्रेसले नेपालको राष्ट्रिय संरचनामा मधेशलाई क्षेत्रीय स्वायत्तता दिनु पर्ने माँग उठाए । त्यसपछि सन् १९८३ मा सदभावना काउन्सिल र पछि सदभावना पार्टीको जन्म भएपछि संघीय शासन, सेनामा मधेशीको सहभागिता र मधेशी हितका कुरा उठाइयो र सत्ता स्वार्थ पनि सँगै आएको कारण कतिपय मधेशका नेताहरु समय–समयमा मधेशको साथ पनि छोडे ।
वि.स. २०४३÷४४ तिर गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् गठन गरी २०४७ सालमा पार्टीकै रुप दिए र संस्थागत रुपमा मधेशवादको कुरा अघि सारे । पार्टीको विधान र चुनावी घोषणा पत्रमा समेत मधेश र मधेशीको हितमा काम गर्ने घोषणा गरे । नेपाल सद्भावना पार्टी ’हात’ चुनाव चिह्न लिएर २०४८ को चुनाव लड्यो, छ सिट हासिल गरे । २०५२ सालपछि पटक पटक सरकारमा समेत सहभागी भयो । सिंह बितेपछि बद्रीप्रसाद मण्डल नेतृत्वमा रहेकोे सद्भावनाका मण्डल सहित केही नेता तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्रिपरिषदमा सामेल भएपछि सदभावना टुक्रियो । सद्भावना पार्टीभित्र पनि टुटफुटको राजनीति सुरु भयो । २०७० असारमा सर्वोच्च अदालतले तत्कालीन सरिता गिरी नेतृत्वको सद्भावनालाई ’हात’ चिह्न को फैसला गरिदिए । र सदभावनाका नेताहरु जताततैं लागे कोहि दल खोले त कोहि कता कोही कता मधेश हराए मधेशी गुप्त वास तिर लागे ।
अब इतिहास हेर्दा २०६२÷६३ को जनआन्दोलन पछि मधेशी जनअधिकार फोरम नेपाल नामक गैरसरकारी संस्थासहित केही मधेशवादी नेता कार्यकर्ताले काठमाडौंमा अन्तरिम संविधान जलाएपछि सुरु भएको आन्दोलनका क्रममा तत्कालीन माओवादीका कार्यकर्ताले चलाएको गोली लागि लहानमा रमेश महतोको मृत्यु भयोर । त्यसपछि आन्दोलन चर्कियो । मधेशभर १९ दिनसम्म चलेको आन्दोलनमा ५४ जना मधेशीको छोरा सहिद भए मधेशले आफ्नो होनहार युवा गुमाए । त्यसपछि २०६२÷०६३ को जन आन्दोलनमा मधेश साथ दिए र त्यस पछि मधेश आन्दोलन पनि भए । तत्कालिन सरकारले ८ बुँदे र २२ बुँदे सम्झौता पनि गरे । तात्कालिन प्रधानमन्त्री गिरीजा बाबु पनि स्वीकार गर्नुभयो कि देशको लागि हामी सबै एक हौं भने सब नेपालीलाई महंसुस भए । त्यसबेला पनि मधेशका नेताहरु मधेशमा कुनै पनि समस्या छैन भनेर सार्वजनिक भाषण गरे र मधेशका समस्या नदेखेर आफ्नो पदीय लिप्सामा लागे । जब आफ्नो कुर्सी गए त्यसपछि मधेशी नेताहरु मधेश झरे ।
कुर्सीमा पदमा हुँदा मात्तिने र पद खुस्किदा आत्तिने मधेशका नेताहरु अब होसियार मधेशलाई ठगेर भावनात्मक कुरा गरेर केहीं दिन ठग्न सकिन्छ र स्वार्थपूर्ति गर्न सकिन्छ । मधेशमा मधेशी दलमा मात्र मधेशी सामन्ती संस्कारका र संभ्रान्त वर्ग किन अगुवाइ गरिहेको छ । सहिदको नाममा मात्र अल्पसंख्यक, गरिब, निमुखा राजनीतिबाट टाढा रहेकाहरु छन् भने राजनीतिमा मात्र सिमित अनुहारहरु किन ? यसको न त जवाफ छ तिमीहरुसँग न त यसलाई परिवर्तन गर्न सक्छौं । परिवर्तन त नाम मात्र गर्ने र त्यो पनि चलखेल युक्त नामहरु दिने गरेका छौं । त्यसैले अबको दिनमा मधेशवादी दलको साख जोगाउन गाह्रो हुने पक्का पक्की छ । मधेश शब्द आफ्नो पार्टीको नाम सम्ममा नराख्नेहरुको चरित्र देखि सके मधेशी जनताले त्यसैले के कुन हक लिएर मधेशमा जाने आफ्ना चुनावी घोषणा पत्रको याद गरेर हेर कहाँ छौं तिमीहरु र के गरेका छौं । सदभावनालाई समाप्त गर्ने र मधेशी र मधेश शब्दलाई समाप्त गर्नेहरु अब मधेशलाई समाप्त गर्ने छैनौं भने के ठेगान ?
संविधान सभाको चुनाव भए दुई दुई पल्ट र नेपालमा युगान्तकारी नेपालको संविधान २०७२ आए । र संविधान जलाउन र मधेशमा भावनाको खेल सुरु गरे । देशलाई विखण्डन गर्ने देशमा मधेशीलाई भगाउन लागेको मधेशको पहुँच सत्तासम्म नभएको कुरा गरेर मधेशलाई आतंकित बनाए र शिकार भए मधेशी जनता सिर्फ मधेशी जनता । त्यसपछि एमालेले मेची महाकाली अभियानअन्तर्गत ०७२ फागुन २३ मा सप्तरीको मलेठमा कार्यक्रम गर्न खोज्योर । तर, मधेसवादी दलले कार्यक्रम विथोल्न खोज्दा झडप भयो र पनि सप्तरीका ५ जनाले ज्यानसमेत गुमाए । त्यो पनि समय र आउँदो चुनावको भावनात्मक खेल रहेको सहिद परिवारहरु नै आरोप लगाउँदै आएको छ । किनकी जुन संविधान जलाए सुरुवातमा विरोध गरे अन्ततः संविधानलाई स्वीकारेर निर्वाचनमा भाग लिए यसको अर्थ केलगाउनु ।
त्यस पछि स्थानीय र प्रदेशको चुनाव भयो । प्रदेश २ मा प्रदेश २ सरकार गठन भयो । माघ ५ मा सार्वजनिक बिदा दिने निर्णय गरियो र मधेश आन्दोलनलाई सम्झना गरियो । तर मधेस केन्द्रित दलका नेताहरू पनि जातिय विभेद र भ्रष्टाचारमा लिप्त भएर । अहिले नेपालमा भ्रष्टाचारको अखडा बनेको प्रदेश २ मा मधेशवादीको मधेशी चरित्र सबैको समक्ष आएको छ । वर्तमान अवस्थामा हेर्दा खेरी राजपा र फोरम एक भए मधेशको विभिन्न पार्टी थिए कसैले जय मधेशको नारा लगाउँदै गरेको थियो भने कसैले जय मातृभूमीको तर सब विलाए लुप्त भए, हराए, कहाँ गए कहाँ अतोपतो छैन् ।
अब विचार गर्नुपर्ने कुरा यो छ भने मधेश त छ नेपाल र नेपालीले स्विकार गरेकै छ यसमा कहिं कतै कसैको दोष देखिएको छैन् तर मधेशवादी दलले जुन मधेशमा विश्वास जितेको थियो । मधेशवादी दलले मधेशको विश्वाससँग किन खेलवाड गरे त ? किन मधेशी र मधेश शब्द आफ्नो पार्टीको नामबाट समेत हटाए त ? किन मधेशको नाममा मधेशीको हक र अधिकारको नाममा आन्दोलन गरे र फेरी आफ्नो सत्ता स्वार्थको लागि समय समयमा सम्झौता गरे त ? र गरे भने पनि मधेशी र मधेशमा बस्ने ति अल्पसंख्य, आदीवासी, जनजाती, थारु, मुस्लिम, महिला, गरिब, दलित, पिछडीएकाहरुको लागि के नयाँ नौलो गरे त ? यो प्रश्नको जवाफ मधेशमा गाँउ घरमा खोजी रहेको छ र जसको जवाफ फेरी पनि छैन यी मधेशी नेताहरुमा । यिनिहरु कतै जातिवाद त कतै नातावाद र कृपावादको भुमरीमा मधेशी जनतालाई पिसी रहेको र आफू सत्ताको राजनीतिमा लागि रहेको छ । देशले मधेशको नाम त दिए मधेशी नाम त दिए पहिचान त दिए तर हामी के गर्यौ यसको हिसाब जनताले लिने कि नलिने ? त्यसैले त अब जति भने पनि मधेशी जनता पनि विकास सोचि रहेको छ मधेशी जनता पनि मधेशको समृद्धि खोजी रहेको छ । अब आन्दोलन हैन देशमा स्थिरता खोजीरहेको छ । अब कसैको लहलहैमा लाग्दैन र मधेशमा काम गर्ने विकास गर्ने पार्टी र दललाई साथ दिने छ जसको उदाहरण अस्तिको सिरहाको प्राधानमन्त्रीको सभालाई लिन सक्छौं । अब मधेश पनि गुमनाम होइन यहाँको हरेक किसिमले दबिएका जनता आफूलाई सक्षम र सबल बनाउन तर्फ लागिरहेको छ र लाग्ने छ अब मधेश लुप्त र मधेशी गुप्त गर्ने पार्टी हैन समृद्धि र विकास दिने पार्टी र नेता चाहिएको छ देशमा मधेशमा । (लेखक मण्डल अधिवक्ता हुन् ।) (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्